अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको कामबाट कांग्रेस नै आजित भइसक्यो: अध्यक्ष ओली

सरकारको कामबाट कांग्रेस नै आजित भइसक्यो: अध्यक्ष ओली

सरकार कुहिएर झर्न लागेको छ


भोजपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पत्रा पहाडको विकास र समृद्धि खोज्ने यात्रा भएको बताउनुभएको छ।

यात्राको क्रममा बिहीबार बिहान भोजपुरको पौवादुङमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पहाडका समस्या र सम्भावना खोज्न एमाले यात्रामा निस्किएको बताउनुभयो। ओलीले भन्नुभयो, ‘यो ठाउँको विकासको सम्भावना खोज्न आएका हौँ ।’

संकल्प यात्रामा जनसहभागिता देखेर आफूहरूलाई थप उत्साहित बनाएको ओलीले बताउनुभयो। ओलीले कुनै एक ठाउँको मात्र विकास गरेको देश विकास नहुने प्रष्ट पार्नुभयो । देश विकासको लागि देशको समग्र भूगोल र क्षेत्रको विकास हुनु पर्नेमा उहाँले जोड दिनुभयो। ‘यो देशको समग्र विकास गर्न सकेनौँ भने देश विकास गर्न सक्दैनौँ’, उहाँले भन्नुभयो।

समृद्ध नेपाल निर्माणको खाका नेकपा एमालेसँग मात्र भएको ओलीको दाबी छ। त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो। त्यसैले नेकपा एमालेले २०८४ निर्वाचनलाई मिसनकै रूपमा लिएको उहाँको भनाइ छ। ‘हामीले समृद्ध नेपाल सुखी नेपाली बनाउन मिसन ८४ भनेका हो’, उहाँले भन्नुभयो ।

देश अहिले गम्भीर संकटमा रहेको बताउँदै ओलीले देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताउनुभयो । त्यो राष्ट्रिय शक्ति नेकपा एमाले भएको उहाँको भनाइ छ। ‘यो देशमा राष्ट्रिय शक्ति बलियो बनाउन सकिएन भने देश बरबाद हुन्छ, देश बरबाद भएको हेरेर बस्न सकिँदैन’, ओलीले भन्नुभयो।

वर्तमान गठबन्धन सरकार अनियमितता, भ्रष्टाचार र नातावादमा चुर्लुम्म डुबेको ओलीको भनाइ छ। गठबन्धन कुहिसकेकोले कुनै बेला खस्ने ओलीले टिप्पणी गर्नुभयो। ‘काग्रेस नै यो सरकारसँग आजित भएको छ, यो सरकार असफल भइसकेको छ, काग्रेसले नै २०८४ सम्म पर्खन सकिँदैन भनिरहेको छ, यो सरकार कुहिएर झर्न लागेको छ’, उहाँले भन्नुभयो।

कार्यक्रममा बोल्दै ओलीले नेपाली जनतालाई निराश नहुन पनि आग्रह गर्नुभयो । एमाले हुँदा हुँदै जनताले निराश हुनुपर्ने उहाँको भनाइ छ। ‘निराश हुन पर्दैन, अगतिलो सरकार बन्यो अब सच्याउनु पर्छ’, ओलीले भन्नुभयो ।

अहिले देशलाई विकास र सुशासन दिने सरकार चाहिएको उहाँले बताउनुभयो। ‘फेरि पनि एमालेले विकास गर्न विश्वास दिलाउँछु’, ओलीले भन्नुभयो।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।