अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका काम देखेर विराेधी आत्तिए: अध्यक्ष ओली

एमालेका काम देखेर विराेधी आत्तिए: अध्यक्ष ओली


तेह्रथुम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई गलत ढंगले सरकारबाट हटाइएको बताउनु भएको छ।

झुलाघाट-चिवाभञ्ज्याङस्समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङ्गमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकास गर्ने र सुशासन ल्याउने काम गरेकै कारण एमालेलाई सरकारबाट हटाइएको बताउनुभयो।

देश एमालेमय बनेपछि विरोधीहरु आत्तिएर एमालेलाई सरकारबाट षड्यन्त्रपूर्ण ढंगले हटाएका उहाँले बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई गलत ढंगले सरकारबाट हटाइयो, षड्यन्त्रपूर्ण ढंगले हटाइयो, देशीविदेशीहरु लागेर हटाइयो, हामीले प्रभावकारी ढंगले देश विकासको काम गर्‍यौं, सुशासन ल्याउने काम गर्‍यौं त्यसकारण हटाइयो, जनता हाम्रो पक्षमा ओहिरिएर सही पनि एमाले मै पनि एमाले हुने अवस्था बन्यो, देश एमालेमय बन्यो, त्यसकारण विरोधीहरु आत्तिए, षड्यन्त्र गरे, जालझेल गरे, प्रयोग नगर्नुपर्ने संस्थाहरुको प्रयोग गरे अनि हामीलाई सरकारबाट हटाए ।’

संवैधानिक अंगहरुको दुरुपयोग गर्दै एमालेलाई सरकारबाट हटाएर अन्याय गरिएको भन्दै उहाँले त्यो अन्याय एमाले विरुद्ध मात्र नभएर सिंगो देशका विरुद्ध भएको बताउनुभयो। एमालेलाई सरकारबाट हटाएपछि देशको प्रगतिको बाटो अवरुद्ध भएको भन्दै अध्यक्ष ओलीले उकालो लागिरहेको देश एमालेलाई सरकारबाट हटाएपछि ओरालो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देश अन्यायमा पर्‍यो, देशको प्रगतिको बाटो अवरुद्ध भयो, उकालो लाग्दै गरेको देशलाई मोडेर थेचारेर ओरालोतिर फर्काइयो ।’

एमालेले जनता र जनताको अभिमतमा विश्वास राख्ने भन्दै अध्यक्ष ओलीले गठबन्धनलाई वैधानिक ढंगले नै विस्थापन गर्ने बताउनुभयो । उहाँले गठबन्धनका अपराधहरुलाई भण्डाफोर गरेरै छाड्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी धैर्यता राख्छौं, जनतामा विश्वास गर्छौं, जनताको अभिमतमा विश्वास गर्छौं,धैर्यतापूर्ण ढंगले अहिलेको गठबन्धनलाई तोडेर, यससँग हामी लुकेर, भागेर ,आक्रोशित भएर आवेश उत्तेजना देखाएर होइन, यस गठबन्धनका अपराधहरुलाई, देशको प्रगतिका निम्ति बाधक बनेका यसका षड्यन्त्रमूलक क्रियाकलापलाई हामी भण्डाफोर गरेरै छाड्छौं, तर संवैधानिक, कानुनी, शान्तिपूर्ण बाटो र जनताको अभिमतबाट अगाडि आउँछौं, त्यसै कारण हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि मिसन ०८४ भनेका छौं ।’

देश बनाउने कुरा आजको भोलि नहुने भन्दै उहाँले त्यसका लागि योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले एउटा चुनाव हार्‍यो जित्यो, एउटा चुनावमा बुथ कब्जा गर्‍यो, एउटा चुनावमा धाँधली गर्‍यो भन्ने कुराले देश, पार्टी, आन्दोलन र विचारको भविष्य निर्क्यौल नहुने बताउनुभयो। त्यसको निर्क्यौल त्यसका सफलता र असफलताबाट हुने भन्दै उहाँले जसले असफल बाटो रोज्छ उ असफल र जसले सफल सही बाटो रोज्छ उ सफल हुने बताउनुभयो ।

अध्यक्ष ओलीले समृद्धिका लागि संकल्प कसैका विरुद्ध नभएको बताउनुभयो। यो यात्रा गठबन्धन सरकारका अयोग्यता र असफलताका विरुद्ध भएको भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘अरु किन तगारो हाल्न आएका ?’

संकल्प यात्रा जनताका समस्या बुझ्ने र तिनको समाधान खोज्ने यात्रा भएको पनि अध्यक्ष ओलीले बताउनुभयो । यात्राका क्रममा सबैसँग छलफल गरिएको उहाँले बताउनुभयो । संकल्प यात्राबाट जनताको साथ समर्थन देखेर आफूहरु निक्कै उत्साहित भएको अध्यक्ष ओलीले बताउनुभयो ।

एमालेलाई जनताले भरोसा गरिरहेका भन्दै उहाँले एमाले भरोसायोग्य पार्टी भएको प्रष्ट पार्नुभयो । अनेकौं जेलनेल र दुखकष्ट सहेर एमाले यहाँसम्म आएको भन्दै अध्यक्ष ओलीले एमालेलाई अलमलमा नपरीकन जनताले साथ दिनुपर्ने बताउनुभयो ।

देशको रक्षा गर्न सक्ने,देशलाई अगाडि बढाउन सक्ने, देशमा समृद्धि ल्याउन सक्ने, जनतालाई विकासका लागि बाटो देखाउन सक्ने, पूर्वाधार तयार गर्न सक्ने, भौतिक पूर्वाधार, सामाजिक पूर्वाधारको व्यवस्था गर्न सक्ने पार्टी एमाले मात्रै भएको उहाँले बताउनुभयो । शान्ति स्थापना गर्न, सुशासन दिन र एकताबद्ध भएर देश अगाडि बढाउन सक्ने काम पनि एमालेले मात्र गर्न सक्छ भन्ने स्पष्ट भएको अध्यक्ष ओलीले बताउनुभयो ।

एमालेप्रति जनताले देखाएको विश्वास सही भएको भन्दै अध्यक्ष ओलीले जनताको विश्वासलाई एमालेले तलमाथि हुन नदिने बताउनुभयो ।

पछिल्ला गतिविधिप्रति लक्षित गर्दै उहाँले विरोधीहरुले आफ्नै विरोध गरिरहेका बताउनुभयो । भावनात्मक आवेश र उत्तेजना छोड्न अपिल गर्दै अध्यक्ष ओलीले शान्तिपूर्ण ढंगले संवादका माध्यमबाट समाधान गर्न सकिने बताउनुभयो। समस्या समाधानका लागि विधि, प्रकिया र निर्णय गर्ने निकाय रहेका भन्दै उहाँले त्यहाँबाट समस्या समाधान गर्न सकिने बताउनुभयो । बाटाका विरोध प्रदर्शनले समस्या समाधान हुन नसक्ने अध्यक्ष ओलीले बताउनुभयो ।

एमाले देश, जनता र विकासका लागि संकल्प यात्रा गरिरहेको भन्दै उहाँले यो यात्रा विरोधीका लागि पनि भएको बताउनुभयो । एमालेको यात्रा विकासको यात्रा भएको र त्यो विकास विरोधीलाई पनि चाहिने अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

नेपालको राजनीतिमा तेह्रथुमले नवजागरण ल्याएको स्मरण गर्दै उहाँले नेपालको भविष्य सुन्दर देख्ने द‍ृष्टिलाई कायम राखेकोमा सम्पूर्ण तेह्रथुमबासीलाई धन्यवाद दिनुभयो ।