अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठराईका मानिसले देशविदेश ढाकेपनि गाउँ सुनसान भएकोमा स्थानीयको चिन्ता, गाउँ फर्किने वातावरण बनाउने अध्यक्ष ओलीको प्रतिवद्धता

आठराईका मानिसले देशविदेश ढाकेपनि गाउँ सुनसान भएकोमा स्थानीयको चिन्ता, गाउँ फर्किने वातावरण बनाउने अध्यक्ष ओलीको प्रतिवद्धता


आठराई -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मध्यपहाडी यात्राका क्रममा लाखौं मानिसहरुले भेटे । हजारौंले आफ्ना ठाउँका समस्या राखे । सयौंले व्यक्तिगत समस्या राखे । हजारौंले ओलीको सक्रियताको प्रशंसा गरे । मध्यपहाडी (पुष्पलाल) राजमार्गलाई पछ्याउदै ओली जब आफ्नै जन्मघर पुग्नुभयो त्यहाँका छरछिमेकीले गाउँ रित्तिएकोमा धेरै चिन्ता व्यक्त गरे ।
स्थानीयहरुसँग यीनै विषयमा संवाद गरिरहेका बेला स्थायी कमिटी सदस्य गुरु बरालले अध्यक्ष ओलीले मोबाइलमा भिडियो कल मार्फत एक व्यक्तिलाई अध्यक्ष ओलीसँग जोड्नुभयो । उहाँ हुनुहुन्थ्यो ओलीका बालसखा लोकप्रसाद संग्रौला । वर्षौं अघि जन्मथलो छोडेर तराइ झर्नुभएका संग्रौला मोरङको सुन्दर हरैंचा विराटचोकमा बस्नुहुन्छ । नेपाली काँग्रेसका नेता संग्रौलाले अध्यक्ष ओलीको सक्रियताको प्रशंसा गर्दै गाउँ रित्तिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
‘उहाँले गाउँमा मानिस अडिएनन् के गर्ने हो बिचार गर्नुहोस है भन्नुभयो ’ स्थायी कमिटी सदस्य बरालले भन्नुभयो ‘अध्यक्षज्यूले जवाफमा बसाँइसरी गएका मानिसलाई फर्काउने योजना बनाउन कै लागि आफू मध्यपहाडको यात्रामा हिडेको जवाफ दिनुभएको छ ।’


आठराई राणाशासन देखि नै शिक्षित र सुविधायुक्त ठाउँ हो ।१९९३ सालमा भाषा पाठशाला, संक्रान्ती बजारमा रहेको त्रिभूवन मावि २००४ सालमा नै बनेको हो । त्यसैले पनि आठराई भेगका मानिसहरुले विद्यालय शिक्षाको अवसर राणाकालमा नै पाएका थिए । उच्च शिक्षाको अवसर पनि यहाँका बासिन्दाले पञ्चायती व्यवस्था सुरु नहुँदै पाएका हुन् । चुहानडाँडामा रहेका तेह्रथुम बहुमुखी क्याम्पस २०१७ सालमा नै स्थापना भएको हो । तथापी यस ठाउँबाट मानिसहरु ठूलो संख्यामा पलायन भइरहेकोमा सबैको चिन्ता छ ।
शिक्षाका लागि मात्र हैन राजनीतिक चेतना पनि यहाँ राणा शासन कै पाला देखि अब्बल थियो । यो त्यही ठाउँ हो जहाँ २००७ सालको विद्रोहमा कयौं मानिसहरु बिस्थापनमा परेका थिए । पञ्चायती व्यवस्थाको सुरुवातसँगै यहाँ कम्यूनिष्ट चेतनाको विरुवा उम्रिएको हो । जसमा रामनाथ दाहाल,केपी ओली,सिएम कङ्दङ्वा,मालेस्ताएमा दाहालहरुले पञ्चायत विरुद्धको क्रान्तीको बीउ रोपेको ठाउँ हो आठराई । दाहाललाई झापा झरेर झापा विद्रोहको सुरुवात गरे बापत २०२९ साल फागुन २१ गते आफू सहित ५ जना साथीसँगै पञ्चयाती प्रशासनले हत्या गर्यो । जसलाई आज एमालेले सुखानीका सहिद भनेर सम्मान गरिरहेको छ । त्यही विद्रोहको नेतृत्व गरे बापत केपी ओलीले २०३० साल देखि १४ वर्ष जेल जीवन भोग्नुपर्यो ।
सिपी मैनाली र आरके मैनालीहरु आठराई इवासँगै जोडिएको अर्को गाउँ आठराई फूलबारीका युवा थिए । उनीह्रुले पनि कम्यूनिष्ट राजनीतिमा लामै योगदान गरे । आरके पछि राजावादी भए भने सिपी अहिले पनि नेकपा मालेको महासचिवको रुपमा हुनुहुन्छ ।
राजनीतिक रुपमा पनि यस्ता वीर पुरुषहरु जन्माउने आठराईलाई बसाँइसराइले आक्रान्त पारेको गाउँपालिकाकी पूर्व उपाध्यक्ष रुपा लिम्बू बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘अध्यक्षज्यूलाई उहाँका साथी भाइ देखि हामी कार्यकर्तासम्मले यहाँका समस्या सुनाएका छौं । यहाँबाट मान्छे भाग्ने मूख्य कारण भनेको खानेपानी समस्या हो । खानेपानीको समस्या समाधान हुने हो भने यहाँको बसाँइसराइ रोकिन्थ्यो । रोजगारीको अवसर हुने हो भने यहाँबाट अन्त गएका मान्छे गाउँ फर्किन्थे । ’
अध्यक्ष ओलीले यस गाउँमा मानिस फर्काउनका लागि आफ्नो सबै सम्पती राज्यलाई दिएर प्राविधिक शिक्षालय स्थपना गरिदिनु भएको छ । आफू प्रधानमन्त्री भएका बेला शिलान्यास गरेको यो शिक्षालायमा अहिले कृषि,भेटनरी,इन्जिनियरिङ आदि विषयहरु पढाइ हुन्छन् । गाउँमा आधुनिक खेती प्रणालीको सुरुवात गरेर त्यसको बजारिकरण मार्फत यस गाउँको आकर्षण फेरी फर्काउने अध्यक्ष ओलीको योजना छ । यातायातको हिसाबले कुनै बेला दुर्गम रहेको यो गाउँलाई अहिले मध्यपहाडी राजमार्गले जोडेपछि पाँचथरको फिदिम नजिकिएको छ । जसका कारण यहाँका उत्पादन एकै झमटमा झापा र भारतका बजारमा पुग्ने बाटो पनि छोटिएको छ ।
यस गाउँपालिकामा २०६८ सालको जनगणनामा ४ हजार ५ सय ७८ परिवार र २१ हजार ७ सय ४७ जनसंख्या थियो । २०७८ सालको जनगणनामा घटेर यहाँ परिवारको संख्या ४ हजार ३ सय ७३ र जनसंख्या १८ हजार १ सय ५६ रहेको छ ।