अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्द हड्तालले समाधान दिँदैन, समृद्धिको महाअभियानमा सहभागि बनौँ -वसन्त नेम्वाङ

बन्द हड्तालले समाधान दिँदैन, समृद्धिको महाअभियानमा सहभागि बनौँ -वसन्त नेम्वाङ



पाँचथर – नेकपा एमाले केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले बन्द र हड्तालले कुनै पनि समस्याको समाधान ननिस्कने बताउनुभएको छ ।
नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको एक दिन बाँकी रहँदा शनिबार पाँचथरमा हुन लागेको सभाको सन्दर्भमा सो जिल्लाबाट निर्वाचित प्रतिनिधि समा सदस्य समेत रहनुभएको नेम्वाङले बन्द, हड्ताल लगायतको सबै कार्यक्रम फिर्ता लिएर शान्तिपूर्ण र संविधानको बाटोबाट समस्याको समाधान खोज्न कथित पहिचानवादीलाई आग्रह गर्नुभएको छ ।
कुनै समस्या छन् भने संवैधानिक र राजनीतिक रुपले शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘यो बाटै ठिक होइन, समस्या छन् भने संवैधानिक, शान्ति पूर्ण र ठिक बाटोबाट समाधान खोजिनु पर्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेको संकल्प यात्राको पाँचथरमा हुने सभालाई सफल बनाउन सहभागिताको लागि उहाँले सबैमा आह्वान गर्नुभयो । सो सभा पाँचथर जिल्लाको प्रतिष्ठाको विषय भएको उहाँले प्रष्ट पार्नुभयो । जनताको कार्यक्रममा सहभागिता जनाउने इच्छालाई कुण्ठित नगर्न पर्न पनि उहाँले चेतावनी दिनुभयो ।
एमालेको सभामा सहभागी हुन आउन लागेका जनतालाई ठाउँ ठाउँमा रोकेको भन्ने सूचना आएको बताउँदै त्यस्तो कार्य रोक्न नेम्वाङले आग्रह गर्नुभयो । नेकपा एमालेले सञ्चालन गरेको यो अभियान कसैको विरुद्ध नभई राजनीतिकसँगै देशको समृद्धिको अभियान भएको उहाँले प्रष्ट पार्नुभयो । ‘यो नेकपा एमालेको राजनीतिक अभियान मात्र होइन, मुलुकको समृद्धि र विकासको निम्ति थालिएको महाअभियान हो’, उहाँले भन्नुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।