अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई पहिचान विरोधी भनेर गरिएको प्रचार जनसमर्थनले खण्डित गरिदियो : पृथ्वी सुब्बा गुरुङ

एमालेलाई पहिचान विरोधी भनेर गरिएको प्रचार जनसमर्थनले खण्डित गरिदियो : पृथ्वी सुब्बा गुरुङ



तेह्रथुम – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको बताउनुभएको छ ।
नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ दिनसम्मको अनुभव सुनाउँदै गुरुङले एमाले विरुद्धको भ्रम चिर्दै यात्रामा देश भरी साथ र समर्थन पाएको बताउनुभयो । एमालेलाई कोशी प्रदेशमा केही व्यक्तिहरूले लगाएको पहिचान विरोधीको आरोप पनि यात्राको क्रममा नागरिक समर्थनले चिरिदिएको उहाँले दाबी गर्नुभयो ।
तेह्रथुममा पत्रकारसँग कुरा गर्दै गुरुङले बहु पहिचान सहित अहिलेको संघीयताको मोडल नै नेकपा एमालेको मोडल भएको दाबी गर्नुभयो । नेकपा एमालले नै संघीयतामा सात प्रदेशको कुरा दृढतापूर्वक उठाएको उहाँले स्मरण गराउनुभयो । ‘नेकपा एमाले प्रति जनताको व्यापक समर्थनबाट विमुख बनाउन देशी विदेशी शक्तिले एमालेलाई पहिचान विरोधी भनेर भ्रम फिँजाउने काम गरेका हुन्’, गुरुङले भन्नुभयो ।
एमालेको संकल्प यात्राले राजतन्त्र वा नयाँ दलको पक्षमा जनता छैनन् भन्ने कुरा पुष्टि गरेको गुरुङको भनाइ छ । जनताले यात्रा मार्फत एमाले विरुद्ध लागेका सबै आरोपको खण्डन गरिदिएको उहाँले बताउनुभयो । ‘यात्राको क्रममा एमाले प्रतिको क्रेज देखियो’, उहाँले भन्नुभयो ।
मध्यपहाडी लोकमार्ग निर्माण र स्तरोन्नतिको लागि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । सरकाले निर्माणका काम ठप्प बनाएर कुनै काम नगरेको यात्राको क्रममा देखिएको उहाँले बताउनुभयो ।
त्यस्तै सरकारले आर्थिक विकासको कुनै काम नगरेको देखिएको पनि उहाँको भनाइ छ । आर्थिक करिडोरको बारेमा सरकारले नसोच्दा पहाड श्रोतले धनी हुँदा पनि समृद्धिको पथमा अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुला घाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।