अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको केन्द्र बन्दै: सुरेन्द्र पाण्डे

मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको केन्द्र बन्दै: सुरेन्द्र पाण्डे


पाँचथर-नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अब मध्यपहाडकै पहाड पूर्वदेखि पश्चिमसम्म जोडिने अवस्थामा पुगेको बताउनुभएको छ। 

नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पाँचथर पुगेपछि पत्रकारसँग कुरा गर्दै पाण्डेले अब मध्यपहाड प्रगतिको पथमा अघि बढेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको केन्द्र बन्दै छ।’

मध्यपहाडी मार्गको काम छिटो सम्पन्न गर्ने तर्फ वर्तमान सरकारको ध्यान नगएको भन्दै उहाँले आलोचना गर्नुभयो। सो सडकको लागि उचित बजेट विनियोजन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। 

मध्यपहाडको यात्राको क्रममा नागरिकको ठुलो उत्साह देखिएको उहाँले सुनाउनुभयो। ‘एमाले सँगसँगै पार्टी अध्यक्ष केपी ओली प्रतिको लगाव बढेको मैले पाएँ, एक पटक हेर्न र भेट्न पनि जनसहभागिता देखियो’, उहाँले भन्नुभयो। 

विगतका कार्यक्रममा कार्यकर्ताको सहभागिता बढी हुने गरेको भए पनि यस पटक जनताको सहभागिता बढी देखिएको उहाँले बताउनुभयो । यसलाई जोगाउन पार्टीले समीक्षा सहित काम गर्ने उहाँले प्रष्ट पार्नुभयो । 

मध्य पहाड पर्यटन, विद्युत् उत्पादन, फलफूल, नगदे बाली उत्पादनको सम्भावनाको क्षेत्र रहेको उहाँले बताउनुभयो । यसको चुनौती भनेको बसाइसराइ रहेको उहाँले सुनाउनुभयो । बसाइसराई रोक्न मध्यपहाडमा नै सहर विकास, औद्योगिकीकरण, उत्पादनमा जोड्ने काम हुनु पर्नेमा उहाँले जोड दिनुभयो । 

नेकपा एमालेको बेलामा मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण आरम्भ भएकोले पनि एमालले यसमा विशेष ध्यान दिएको र दिनु पर्ने पाण्डेको भनाइ छ । बसाइसराइ रोक्ने यो बाटोलाई आधार बनाएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

लोकतन्त्रमा हरेक कुराको टुङ्गो संवैधानिक र शान्तिपूर्ण तरिकाले लगाउनु पर्ने उहाँले बताउनुभयो । अब कुनै एउटा जात वा धर्मको नाम जोडेर पहिचानको परिभाषा गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले पहिचानको सङ्कीर्ण परिभाषामा नअलमलिन उहाँले आग्रह गर्नुभयो । 

फेसबुकमा प्रचार गरेको भरमा कुनै पनि दल नयाँ हुन नसक्ने उहाँले बताउनुभयो । देश, काल, परिस्थिति र जनताको समस्या र समाधानको उपाय बुझ्न नसक्ने पार्टी नयाँ हुन नसक्ने उहाँले प्रष्ट पार्नभयो । जनतलो देखाएको सहभागिताले नेकपा एमाले निरन्तर जनताको काममा लाग्ने र जनविश्वास बोकेको पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।