अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ: अध्यक्ष ओली

संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ: अध्यक्ष ओली


पाँचथर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको बताउनुभएको छ।

मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार दिउँसो पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन गर्दै ओलीले नेकपा एमालेले सञ्चालन गरेको यो अभियानले अन्य पार्टीमा समेत प्रभाव पारेको दाबी गर्नुभयो।

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीले बताउनुभयो । यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको ओलीले बताउनुभयो । ओलीले मध्यपहाड विकासको योजना बनाउन यसले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ओलीले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको ओलीले दाबी गर्नुभयो । ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ’, उहाँले भन्नुभयो ।
ओलीले अहिले देशको राजनीति अहिले अन्यौलता तर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । गठबन्धन सरकारको कारण देशको अवस्था ओरालो लागेको उहाँको भनाइ छ । ‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ’, ओलीले भन्नुभयो ।

देशका सामु अहिले धेरै चुनौती रहेको बताउँदै ओलीले एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको दाबी गर्नुभयो । ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरि ठान्ने आमजनताको मनोबल उच्च बनाएको छ’, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा संकल्प यात्राले दिएको बताउनुभयो । नेपाली समाजलाई एकताको डोरीमा बाँधेर मात्र देशमा समृद्धि कायम गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।
मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराई सुरु गर्नुभएको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गर्नुभएको हो ।
उहाँले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिनुभयो । उहाँले यात्रामा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालको इतिहासमा नै राजनीतिक दलको तर्फबाट आयोजना गरिएको यति लामो यात्राको नेतृत्व सुरुको विन्दु बैतडी स्थित महाकाली नदी किनारको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुभयो । यात्राको क्रममा मध्यपहाडका अधिकांश जिल्लामा टोली पुगेको छ ।


सो क्रममा एमाले अध्यक्ष लगायत अभियानमा संलग्न नेताहरूलाई स्वागत गर्न हजारौँको सङ्ख्यामा नागरिकहरू ठाउँ ठाउँमा भेला हुनुभएको थियो । नागरिकले एमालेको अभियानमा साथ र समर्थन जनाउनुभएको थियो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रा गरेको हो । यात्राका क्रममा प्राप्त सुझा, ध्यानाकर्षण पत्र, ज्ञापन पत्र समेतलाई अध्ययन गरी मध्यपहाडको विकास खाका तयार गरिने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।