झापा–दक्षिण झापाको हल्दिबारी गाउँपालिका-४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्त्विक महत्त्वका सामग्री भेटिएका छन्। स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन्।
‘ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन। बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भन्नुभयो, ‘ट्युबेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै थियौँ । अलिकति गहिरो खन्दा घ्याम्पो आकारको पुरानो इनार पो भेटियो।’ गाउँलेले गाड्धन होला भनेर अनुमान लगाए पनि त्यहाँ कुनै बहुमूल्य धातु भने नभेटिएको उहाँले बताउनुभयो।
बरालका अनुसार उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ। बरालकै खेतबारीमा अहिले गाई, कुखुरा र मान्छेको पाइला अङ्कित अनौठा चारपाटे इँटा धेरै भेटिएका छन्। ‘हेर्दा बिस्कुट जस्ता चारपाटे यी सबै पुराना इँटा हुन्’, उहाँले बारीका इँटा देखाउँदै भन्नुभयो। च्याङ्ग्राबन्ध गाउँमा विराट राजाको दरबारको भग्नावशेष हुनसक्ने स्थानीयवासीको अनुमान छ।
दक्षिण झापामा किच्चकबधस्थल र विराटनगरमा विराट राजाको दरबार रहेको पहिचान भइसकेकाले मध्यभागमा पर्ने यो स्थान विराट राज्यकालीन हुनसक्ने नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले बताउनुभयो। ‘मैले पनि त्यहाँ भेटिएका अनौठा इँटा हेरेको छु,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म सरकारी तहबाट कुनै खोज अनुसन्धान नभएकाले ती वस्तु कहिलेका हुन् भनेर यकिनका साथ भन्न सकिने अवस्था रहेन । ती सामान पुरातात्त्विक महत्वका हुन् भनेर चाहिँ सजिलै अनुमान गर्न सकिन्छ ।’
सापकोटाले च्याङ्ग्राबन्ध गाउँका धेरै खेतबारीमा वि.सं.२०४२ देखि नै पुराना इँटा र भाँडाकुँडा भेटिएको जनाउँदै पुरातत्त्व विभाग र इतिहासका अन्वेषकहरूले चासो राख्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार किच्चकबध क्षेत्र नजिकै भएकाले ती सामग्री र भग्नावशेष विराट राज्यकालीन हुनसक्ने सम्भावना छ। हल्दिबारी गाउँपालिकाका गुनासो सुन्ने अधिकारी राजन न्यौपानेले पुराना भाँडाकुँडा र इँटा भेटिएको भन्ने सुन्नमा आएको बताउनुभयो।
ती सामान कति ऐतिहासिक छन् भनेर अनुसन्धानको खाँचो रहेको उहाँले बताउनुभयो । हल्दिबारीबाट १७ किलोमिटर सडक दूरीमा ऐतिहासिक किच्चकबधस्थल रहेको छ। विराट राज्यकालीन किच्चकलाई बध गरिएको स्थानको रूपमा किच्चकबध स्थललाई मानिएको छ। किच्चकबध स्थलमा विराट राज्यकालीन इँटा, पर्खाल, भवन र इनार सतहमुनि पुरिएको अनुमान गरिएको छ। जसमध्ये इँटा, पर्खाल र भाँडाकुँडा उत्खनन गरेर निकालिएका छन्।
च्याङ्ग्राबन्धमा अहिले भेटिएका इँटा किच्चकबध स्थलमा उत्खनन्बाट भेटिएका इँटासँग मिल्दोजुल्दो रहेका पत्रकार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हल्दिबारी-४ मै खेतबारीमा पुरानो पर्खालको एउटा भग्नावशेषसमेत भेटिएको छ । स्थानीयवासीका अनुसार यहाँ राणाकालदेखि नै एक जना सेनाका जर्नेलले हुकुम प्रमाङगीबाट २० बिघा जग्गा पाएका थिए । स्थानीयवासीले सोही कारण गाउँलाई जर्नेल कामत पनि भन्ने गरिएको बताएका छन् । रासस





प्रतिक्रिया