अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाई घटाउनुपर्छ : महासचिव पोखरेल

मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाई घटाउनुपर्छ : महासचिव पोखरेल

'पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन'


काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाई घटाउनु पर्ने बताउनुभएको छ । 

विराटनगरमा आज बिहान पत्रकार सम्मेलन गर्दै उहाँले एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको बताउनुभयो । उहाँले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनु पर्ने बताउनुभयो ।

महासचिव पोखरेलले  यात्राको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति वृद्धवृद्धा र बालबालिकाको अत्यन्तै आकर्षित रहेको पाइएको बताउनुभयो । यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै उहाँले सडक र मुआब्जाका विषयहरू धेरै उठेको बताउनुभयो ।

यात्राको क्रममा जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको उहाँले बताउनुभयो । उहाँले यात्राले पहाडी क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ–नयाँ योगदान दिएको उहाँको भनाइ छ । 

महासचिव पोखरेलले कोशी प्रदेशमा विरोधको स्वर सुनिएको बताउँदै पहिचानको नाममा एमाले केन्द्रित विरोध भएपनि जनताको तहमा त्यो खालको विरोध नसुनिएको बताउनुभयो । उहाँले धनकुटामा अध्यक्ष ओलीमाथि गलत प्रयास भएपनि मिडियाले सही सूचना सम्प्रेषण नगरेको बताउनुभयो । 

महासचिव पोखरेलले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरूनै कोशीको पक्षमा आएको बताए । त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको उहाँले बताउनुभयो ।  

उहाँले भन्नुभयो,’नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भइजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि । एमालेले जनतामा भनेको एजेण्डा नै लागू गरेको हो । जे भएको छ कोशीमा जायज छ ।’ 

महासचिव पोखरेलले पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसाबले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताउनुभयो ।