अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजी उद्योग सञ्चालकहरू हेटौँडा सिमेन्ट उद्योग बन्द गराउन लागिरहेका छन्ः महेश बर्तौला

निजी उद्योग सञ्चालकहरू हेटौँडा सिमेन्ट उद्योग बन्द गराउन लागिरहेका छन्ः महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको आरोप लगाउनु भएको छ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताउनु भएको हो।

उहाँले हेटौँडा सिमेन्ट उद्योग बन्द भए उद्योगले प्रयोग गर्ने चारवटा खानीहरु कब्जा गर्न सकिने उद्देश्यले निजी सिमेन्ट उद्योगहरु माथिल्लो तहको सेटिङमा लागेको बताउनु भयो।

उहाँले राजनीतिक स्वार्थमा ठूला निजी उद्योग सञ्चालकहरु माथिल्लो तहमा सेटिङ गरेर मजुवा, भैसे, बोखरे र धादिङको खानी कब्जा गर्ने रणनीति रहेको दाबी गर्नुभयो। उहाँले यो काममा कर्मचारीहरुको पनि संलग्नता रहेको जानकारीमा आएको उल्लेख गर्नुभयो ।

राजनीतिक स्वार्थ राखेर सरकारी उद्योगको विकास हुन नसक्ने भन्दै बर्तौलाले मन्त्रीकै पार्टीको व्यक्ति पठाए पनि विज्ञताको आधारमा नियुक्ति गर्न माग गर्नुभयो। उहाँले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा सरकारी उद्योगहरु धरासायी र व्यवसायिक योजनाविहीन भएको दाबी गर्नुभयो। उहाँले सम्बन्धित विषयमा विज्ञ मात्रै उद्योगहरुमा नियुक्त गर्न सरकारसँग माग गर्नुभयो।

सचेतक बर्तौलाले हेटौँडा सिमेन्टको महाप्रबबन्धक कृषिको विज्ञ भएको बताउनु भयो। उहाँले अहिले सरकारी उद्योगहरु बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुने गरेको उल्लेख गर्नुभयो। अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक रहेको भन्दै सरकारले बजारको व्यवस्थापन गर्न नसकेको बताउनु भयो ।

उहाँले ३८ वर्ष पुरानो सिमेन्ट उद्योगको टेक्नोलोजी परिमार्जन नगरे निजी उद्योगसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको बताउनुभयो। सचेतक बर्तौलाले १५५ विघा जग्गामा फैलिएको सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगमा थोरै लगानी गर्दा चल्ने अवस्था रहेको बताउनु भयो।