अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौतारी चितवनको भवन निर्माणका लागि व्यवसायी सापकोटाद्वारा आर्थिक सहयोग

चौतारी चितवनको भवन निर्माणका लागि व्यवसायी सापकोटाद्वारा आर्थिक सहयोग


चितवन-श्रमजीवि पत्रकारहरूको संगठन प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागि होटल व्यवसायी यमलाल सापकोटाले आर्थिक सहयोग गर्नुभएको छ।

जापानमा रहेर होटल व्यवसायको क्षेत्रमा स्थापित भएका सापकोटाले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि रु ३० हजार आर्थिक सहयोग गर्नुभएको हो ।

गैंडाकोटमा ताजमहल एभरेष्ट होटल सञ्चालन गरेका सापकोटाले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । पत्रकारहरुको संगठनले चितवनमा भवन बनाउन लागेको र त्यसमा आफूले सानो भए पनि सहयोग गर्न पाएको खुसी भएको सापकोटाले बताउनुभयो। अहिले सहयोगको सुरुवात मात्रै गरेको भन्दै सापकोटाले आउने दिनमा पनि आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने प्रतिवद्दता जनाउनुभयो।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले विदेशमा होटल व्यवसायको क्षेत्रमा स्थापित भएर स्वदेशमा पनि केही गरौं भन्ने भावनाका साथ गैंडाकोट, भरतपुर, काठमाण्डौं लगायतका क्षेत्रमा लगानी गरेका सापकोटाले चौतारी चितवनको भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो। उहाँले विभिन्न क्षेत्र तथा ब्यक्तिहरुबाट मिलेको सहयोगले चौतारीको देश कै पहिलो भवन निर्माणमा ठूलो टेवा पुगेको भन्दैं भवन निर्माणले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा थप मद्दत गर्ने बताउनुभयो। सो अवसरमा प्रेस चौतारी बागमती प्रदेश कमिटी सचिवालय सदस्य गोविन्द घिमिरे र सेतोपाटीका चितवन सम्वाददाता राजेश घिमिरेको उपस्थिती रहेको थियो ।

चितवन भरतपुर–११ बसेनीमा समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ । भवनको दोस्रो तलाको ढलान गरिसकिएको छ। पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ। भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरू रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ।

यसैबीच, नेकपा एमाले साविक गुञ्जनगर गाउँकमिटीका पूर्व अध्यक्ष स्वर्गीय लिलाबल्लभ सुवेदीको स्मृतीमा प्रेस चौतारी चितवनका लागि रु ५ हजार आर्थिक सहयोग प्राप्त भएको छ। सुवेदीका छोरा रामचन्द्र सुवेदीले प्रेस चौतारी चितवनको भवनका लागि आफूले बुवाको नाममा सहयोग गर्न इच्छा राखेको बताउनुभयो । उहाँले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गरेका थिए ।