अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा सदस्य निर्वाचन: २ हजार ४७ मतदाता

राष्ट्रियसभा सदस्य निर्वाचन: २ हजार ४७ मतदाता


काठमाडौंऔनिर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाताको नाम स्वीकृत गरेको हो। 

निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्। आयोगले  प्रदेशसभा सदस्य ५४९ जना र स्थानीय तहका एक हजार ४९८ जना गरी कुल दुई हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरेको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेशसभा सदस्यतर्फको कुल मतदाता ५५० मध्ये एकजना निधन भएकाले ५४९ जना कायम गरिएको छ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको एक हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका प्रमुख चार गरी आठजनाको नाम हटाइ कुल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको हो ।

पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ। सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने उहाँले बताउनु भयो। 

पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार रहेको उनले बताए । आगामी फागुन २० गतेबाट रिक्त हुने २० पद मध्ये १९ पदमा निर्वाचन हुनेछ । एक पदमा राष्ट्रपतिले मनोनीत गर्नेछन्।