काठमाडौं- जाजरकोट रपश्चिम रुकुमका भूकम्प पिडितहरुलाई राहात उपलब्ध गराउन दक्षिण कोरियाली सरकारले ३ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । यो रकम संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीए मार्फत आवश्यक मानवीय सामग्री हस्तान्तरण गरिनेछ।
गत कार्तिक २७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको र कर्णाली प्रदेशका तीन लाख जना प्रभावित भएपछि दक्षिण कोरिया प्रभावित समुदायको साथमा रहेको छ ।
“युएनएफपीएसँगको सहकार्यमा जाजरकोटमा भूकम्पबाट प्रभावित अति जोखिममा परेका समुदायहरूलाई सहयोग गर्न दक्षिण कोरियाली सरकार प्रतिबद्ध छ। यो प्रतिबद्धता नेपालसँग कोरियाको लामो समयदेखिको साझेदारीसँग मिल्दोजुल्दो छ, हामीले सन् २०२४ मा कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाउनेछौ। कोरियाले सन् २०१५ को नेपालको भूकम्प र कोभिड–१९ को महामारीलगायत चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्दै आएको छ। अहिलेको यो सहयोगले भर्खरै गएको भूकम्पबाट प्रभावित समुदायको पुनस् लाभमा सहयोग पुग्ने विश्वासका साथ कोरियाली जनता र सरकार नेपालको साथमा रहेको छ,” नेपालका लागि दक्षिण कोरियाली राजदूत एच. ई. तेयोङ पार्कले भन्नुभयो ।
गत कार्तिकको भूकम्पले महिला तथा किशोरीहरुलाई यौन र अन्य हिंसा, शोषण, र दुर्व्यवहारको उच्च जोखिममा पारेको छ। कतिपय स्वास्थ्य संस्थाहरुको भवनहरु नष्ट भएको र स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्रीहरुको अभावले गर्दा स्वास्थ्य सेवाहरू अवरुद्ध भइ विशेष गरी मातृ स्वास्थ्य सेवा प्रदान गर्न कठिनाई भएको को छ।
हार्दिक कृतज्ञता व्यक्त गर्दै, संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (युएनएफपीए) की प्रतिनिधि वोन योंग होङले मानवीय सहयोग पुर्याउने अटल प्रतिबद्धताको लागि दक्षिण कोरियाको प्रशंसा गरिन्। “हामी दक्षिण कोरियाली सरकारको यो अमूल्य सहयोगको लागि धेरै आभारी छौं। यो योगदानले प्रभावित महिला र किशोरीहरूलाई उनीहरूको सरसफाइ, महिनावारी स्वच्छता, र यौन र प्रजनन सम्बन्धी आवश्यकताहरूको सहयोग र सेवाहरु पुर्याउन युएनएफपीएलाई सक्षम बनाएको छ। उदारता र करुणाका यस्ता कार्यहरू एकता र मानवताका मूल सिद्धान्तहरूसँग प्रतिबिम्बित हुन्छन्, र यी कार्यहरुले दक्षिण कोरियाको विश्वव्यापी चुनौतीहरुलाई समोधन गर्ने नेतृत्वलाई झल्काउँछ।ू
युएनएफपीएको प्राथमिकता महिला र किशोरीहरुको अधिकार सुरक्षित गर्ने, सम्मानपूर्वक जन्म दिने, र हिंसामुक्त जीवन जिउने अधिकारको सुनिश्चित गर्नु हो। दक्षिण कोरियाको सहयोगमा, युएनएफपीएले आगामी तीन महिनामा ४०,००० भन्दा बढी महिला तथा बालिकाहरूलाई सेवा दिने ५,००० न्यानो कपडा तथा सामग्री, २,००० मर्यादा किट, र विभिन्न स्वास्थ्य किटका १४ वटा सेट लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण कार्य जारी राख्नेछ। यी किटहरूमा अस्पताल र अन्य स्वास्थ्य सुविधाहरूमा आपतकालीन हेरचाह र चिकित्सकीय व्यवस्थापन र परिवार नियोजन सामग्रीहरूको लागि आवश्यक चिकित्सा आपूर्तिहरू समावेश छन्। यो रकम जाजरकोट र रुकुम पश्चिमका ५० भन्दा बढी यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा विरुद्ध लड्ने सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्न पनि प्रयोग गरिनेछ ।





प्रतिक्रिया