अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्प यात्राको मूल धेय समृद्ध नेपाल सुखी नेपालीको आधार खोज्नु हो  : डा. राजन भट्टराई 

संकल्प यात्राको मूल धेय समृद्ध नेपाल सुखी नेपालीको आधार खोज्नु हो  : डा. राजन भट्टराई 

'जनता यो व्यवस्थाको विकल्प खोजिरहेका छैनन्'


काठमाडौँ–नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा मूलभूत रूपमा समृद्धिको लागि गरिएको यात्रा भएको बताउनुभएको छ । 

झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको उपलब्धिका विषमा कुरा गर्दै भट्टराईले यात्राको मूल धेय नै समृद्ध नेपाल सुखी नेपालीको आधार खोज्न सफल भएको बताउनुभयो । ‘समृद्धिको एजेण्डा, विकासको एजेण्डा, परिवर्तनको एजेण्डा, रोजगारीको एजेण्डालाई अब राजनीतिक दलले राख्नु पर्दछ, उनीहरूले प्राथमिकताका साथ यो विषयलाई उठाउनु पर्छ र राजनीतिक परिवर्तनबाट संविधान ल्याएर निर्वाचन सम्पन्न गरिसकेपछि जनजीवनसँग जोडिएका कुराहरू प्राथमिकतामा हुनुपर्छ भन्ने मूल कुरालाई ध्यानमा राखेर यसको विषय पनि हामीले समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्ने यात्राका रूपमा लिएको हो’, भट्टराईले भन्नुभयो । 

झुलाघाटबाट सुर भएको यात्रा चिवाभञ्ज्याङसम्म पुग्दा जनताको अथाह उत्साह र सहभागिता प्राप्त भएको भट्टराईले बताउनुभयो । ‘यो क्रममा हामीले जे उद्देश्य राखेको थियौँ, त्यो उद्देश्य प्राप्त गर्न सफल भयौँ’, उहाँले भन्नुभयो । 

समृद्धि, विकास र आर्थिक परिवर्तनको एजेण्डा अब हरेक राजनीति दलको एजेण्डा बन्नु पर्नेमा भट्टराईले जोड दिनुभयो । त्यो एजेण्डा बनाउन एमाले नै अगुवाइ गरिरहेको र त्यसको पुष्टिको आधार यो यात्राले तय गरेको उहाँले बताउनुभयो । 

गठबन्धन सरकारको अकर्मण्यताको कारण, सरकारले बेहोरेको एक पछि अर्को असफलताको कारण यो व्यवस्थालाई नै दोष दिएर व्यवस्था विरोधीहरू जुरमुराउन लागेको बेला भएको अभियानमा जनताको सहभागिताले जनता यो व्यवस्थाको विकल्प खोजिरहेका छैनन् भन्ने कुरा प्रमाणित गरेको उहाँले बताउनुभयो । ‘जनता संविधानको विकल्प खोजिरहेका छैनन्, जनता यही व्यवस्थाको माध्यमबाट आफ्नो एजेण्डा सम्बोधन होस् भन्ने चाहन्छन्, उनीहरूलाई छुने विषय उठाइदिँदा जनता यिनै दललाई विश्वास जाहेर गर्न तयार छन्, दलको नेतृत्व पुरानो भयो भनेर अनेक ढङ्गले भाष्य खडा गर्न खोजिएका थिए, त्यो कुरा खण्डित गरिदिएको छ’, उहाँले भन्नुभयो ।

संविधान र व्यवस्थाका विरुद्धमा उत्ताउलो ढङ्गले कुरा गर्नेलाई यो अभियानले पाठ सिकाएको उहाँले बताउनुभयो । व्यवस्था नै उल्टाउने, राजतन्त्र ल्याउँछौँ भन्ने उटपट्याङ कुरा गर्नेलाई यात्राको क्रममा जनसागर उर्लिएर जवाफ दिएको भट्टराईको भनाइ छ । 

यही व्यवस्थाका माध्यमबाट विकास केन्द्रित काममा लाग्नु पर्छ भन्ने पाठ पनि यो यात्राले सिकाएको भट्टराईको निष्कर्ष छ । नागरिकका समस्या फरक फरक भएकाले तल्लो तहका नागरिकको समस्या संकलन गर्न, प्रत्यक्ष रूपमा बुझ्न र कार्ययोजनामा उतार्न यात्रा निक्कै फलदायी भएको उहाँले बताउनुभयो । यात्राको क्रममा प्राप्त विषयमा नै उभिएर अब एमाले अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।