अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका किसानलाई चिनियाँ प्राविधिकले सहयोग गर्ने

झापाका किसानलाई चिनियाँ प्राविधिकले सहयोग गर्ने


झापा– झापाका किसानलाई  चिनिया प्राविधिकको टोलीले सहयोग गर्ने भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर २ का किसानलाई सहयोग गर्न चिनिया प्राविधिकको टोली आएको हो । 

पशुपालन र मत्स्य पालनमा आबद्ध किसानलाई प्राविधिक सहयोग गर्न काठमाण्डौस्थित चिनियाँ राजदूतावासका कर्मचारी चाउ थाउसहित साउथ एशिया सेन्टर फर साउथ–साउथ कोअपरेसन फर पोभर्टी एलिभेसनमार्फत उहाँहरु झापा आउनुभएको हो ।  

कृषि विज्ञहरुले बुधबार बिर्तामोड नगरपालिका वडा नम्बर ६, ७ र ८ का कृषकहरुसँग अन्तरक्रिया गर्नुभएको छ । उहाँहरुले कृषकहरुले भोग्नु परेको समस्याका बारेमा जिज्ञासा राख्नुका साथै वडा नम्बर ७ मा रहेको बासुकी बहुउदेश्य कृषि फर्म (गाई पालन) र महालक्ष्मी कृषि फर्म (मत्स्य पालन) को स्थलगत अवलोकन गरेको वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा मत्स्य पालन र दुग्ध उत्पादनमा आबद्ध किसानलाई सहयोग गर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । क्षेत्र नम्बर २ लाई ६ वटा क्लस्टरमा बाँडेर काम गरिने एमाले निर्वाचन क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराईले जानकारी दिनुभयो । उक्त क्लस्टरहरुमा बिर्तामोडको वडा नम्बर २,३ र ९ एउटा, ६,७ र ८ एउटा, अर्जुनधारा ८,९,१० र ११ एउटा, अर्जुनधारा १,२,३,४,७ एउटा, कनकाई ८,९ र अर्जुनधारा ५ लाई एउटा क्लस्टरमा विभाजन गरिएको छ । पाइलट प्रोजेक्टको रुपमा स्थानीय बीउलाई प्रवर्द्धन गरिने बताइएको छ ।

उहाँहरुले धान, बाँस, मासु, सुपारी, फलफूल खेतीमा समेत सहयोग गर्ने संयोजक भट्टराईले जानकारी दिनुभयो ।

अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, सभामुख घिमिरेका स्वकीय सचिव केशव ढुंगेललगायतको सहभागिता रहेको थियो ।