भरतपुर-चितवनको कालिका नगरपालिका-१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ।
‘दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा’ शीर्षकमा राष्ट्रिय समाचार समिति ९रासस०ले पुस ५ गते समाचार प्रकाशन गरेपछि खाजा खुवाउन थालिएको हो। समाचार प्रकाशित भएपछि नगरपालिकाको निर्देशनमा विद्यालयले बालबालिकालाई डेढ महिनापछि खाजा दिन थालेको छ।
शिक्षक रामलाल चेपाङले बालबालिकाका लागि दिवा खाजा नियमित दिन थालिएको बताउनुभयो। 'खाजा पाएपछि बालबालिका पनि खुसी भएका छन्, विद्यालय आउन छाडेकाहरु पनि आउन थालेका छन्', उहाँले भन्नुभयो। खाजा पाएपछि बालबालिकाले पढाइमा पनि रुचि राख्ने गरेको शिक्षक चेपाङले बताउनुभयो। यस विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययनरत छन्। विद्यालयमा एक जना शिक्षकको व्यवस्था छ। उहाँले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ।
राष्ट्रिय आधारभूत विद्यालयको कक्षा-३ मा पढ्ने उर्मिला चेपाङ खाजा खान पाएको भन्दै खुसी हुनुभयो। उहाँले भन्नुभयो, 'खाजा पनि खान पायौँ र नयाँ न्यानो कपडा पनि लगाउन पायौँ।' समाचार पढेपछि बालबालिकाका लागि न्यानो कपडा सिन्धुपाल्चोकका युवाले उपलब्ध गराएका हुन्। सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका युवा सुनील श्रेष्ठ, सुशील श्रेष्ठ, अनिल श्रेष्ठ, समुन्द्र श्रेष्ठ र रोचन श्रेष्ठले आइतबार ३५ जना बालबालिकाका लागि न्यानो कपडा सुइटर र चप्पल वितरण गर्नुभयो।
राससले पुसको कठ्याङ्गिँ्रदो चिसोमा विद्यार्थी थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेको समाचार र तस्बिर प्रकाशन गरेको थियो। सञ्चारमाध्यममार्फत समाचार हेरेपछि बालबालिकाका लागि सहयोग गरेको युवा व्यवसायी सुशील श्रेष्ठले बताउनुभयो। आवश्यक परेको खण्डमा विद्यालयलाई फेरि सहयोग गर्न तयार रहेको भन्दै उहाँले बालबालिकाले सहजरुपमा पढ्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभयो।
चेपाङ जातिको शैक्षिक विकासमा योगदान दिँदै आएका केपीकिरण शर्माले चेपाङ बालबालिका अध्ययनरत धेरै विद्यालयको अवस्था नाजुक रहेको भन्दै राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले चेपाङ बालबालिकालाई गाँस, बास र कपाससहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा हो। दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन्।
प्रतिक्रिया