सिन्धुली-सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गरेको घटनामा सातजना पक्राउ परेका छन्।
बिजुलीको पोलमा बाँधेर यातना दिइएकी शारदा थापाको मंगलबार उद्धार गरिएपछि उनका पति सन्तोष थापासहित सातजनालाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताउनु भयो।
ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो । उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको उहाँले बताउनु भयो । खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवाल नेतृत्वको टोली खटिएको थियो।
उनी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो । गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए । प्रहरी पुगेपछि त्यहाँ भेला भएका स्थानीय भागेको एसपी सिलवालले बताउनु भयो ।
आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर शारदाको उद्धार गरेको हो । उद्धारपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ । प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताउनु भयो । त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पु¥याइएको थियो । एसपी सिलवालले भन्नुभयो, ‘तीन दिनसम्म बाँधेर लाठी, हात, खुट्टाले हिर्काएको भन्ने बयान दिनुभएको छ।’
बोल्न नसक्ने अवस्थामा भएकाले हामीले धेरै कुराकानी गरेका छैनौं । आज अलि ठीक भएको छ। कुटपिटबाट शारदाको शरीरमा निलडामहरू भएको उहाँले बताउनु भयो । अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि एसपी सिलवालले बताउनु भयो ।
यस घटनापछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ । शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ ।
शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आउनु भएको थियो । उहाँले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहनु भएको थियो । त्यही डिभोर्सको प्रक्रिया अघि बढाउन उनी केही दिन अघि मात्रै सिन्धुली पुग्नु भएको थियो ।
कुटपिट गर्ने स्थानीयहरूको रिसिइबी शारदासँग भने देखिन्न । तर उहाँका श्रीमान सन्तोष र ती स्थानीयहरूबीचको लेनदेनको विवादका कारण शारदामाथि कुटपिट भएको एसपी सिलवालले बताउनु भयो ।
‘यसमा पक्राउ परेकाहरूको केही न केही रिसिइबी सन्तोषसँग देखिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले श्रीमानलाई पनि नियन्त्रणमा लिएका हौं ।’
उहाँका अनुसार शुक्रबार श्रीमती शारदा आफ्ना श्रीमान सन्तोषको अपहरण भएको भन्दै प्रहरीकहाँ पुग्नु भएको थियो । अदालतमा डिभोर्सको प्रक्रिया पु¥याउन गएका श्रीमान सन्तोष त्यहाँबाट हराएपछि शारदा प्रहरीकहाँ पुग्नु भएको हो ।
अपहरणमा परेको भन्ने खबरपछि प्रहरीले सन्तोषको खोजी थालेको थियो। तर सन्तोष सकुशल नै भेटिए । त्यतिबेला शारदाले चार जना स्थानीय पुरूष समेतको नाम लिनु भएको थियो ।
‘श्रीमान सकुशल नै भेटिएपछि हामीले उहाँलाई किन के भएको हो भनेर सोध्दा उहाँले श्रीमतीले किन यसरी उजुरी दिइन् थाहा भएन भन्नुभयो । त्यसपछि हामीले शारदालाई फोन गर्यौं,’ एसपी सिलवालले भन्नुभयो, ‘भेरिफाइ गर्न खोज्दा मोबाइल अफ भएपछि यो कुनै झुटो मुद्दा होला भन्ने उजुरी दिएर भाग्यो भन्ने भयो ।’
त्यसरी मोबाइल अफ भएपछि ती महिलालाई स्थानीय युवाहरूले नियन्त्रणमा लिएको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । शारदालाई स्थानीय युवाहरूले नियन्त्रणमा लिएर उनीहरूको घरमा पुर्याए। पछि घरमा पुगेका सन्तोषलाई पनि उनीहरूले नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएर एक रात उनीहरू दुबै जनालाई घरको खम्बामा बाँधेर राखेको देखिन्छ । त्यसका तस्वीरहरू पनि प्राप्त भएको छ । भोलिपल्ट भने श्रीमान सन्तोषलाई उनीहरूले छाडेका थिए ।
जसले गर्दा उनकै (श्रीमान) मिलेमतोमा आफ्नो अपहरण गरी बन्धक बनाएको शारदाले बताएकी छन् । ती स्थानीयहरूले सन्तोषलाई एक करोड बढी रकम दिएको प्रहरीसमक्ष बताएका छन् ।
डिभोर्स गर्दा सन्तोषको सम्पत्ति लगेपछि आफूहरूले दिएको रकम फिर्ता नहुने भएपछि उनीहरूले शारदालाई डिभोर्स नगराउन कुटपिट थालेको बयान प्रहरीसमक्ष दिएका छन् ।
‘आज जाहेरी आएपछि थप अनुसन्धान पनि होला । बयान सबैको लिन्छौं । पक्राउ परेकाहरूले श्रीमानसँग पैसा लिनुपर्ने भएकाले कुटपिट गरेको भनेका छन्,’ उनले भने, ‘श्रीमतीको नाममा भएको केही सम्पत्ति भए पनि आफूहरूले पाउनुपर्छ भनेका हुन् । पक्राउ परेकाहरूले आफूहरूको लेनदेन पहिले मिलाउनुपर्छ अनि मात्रै डिभोर्स गर्नुपर्छ भन्ने हिसाबले कुटपिट गरेको देखियो ।’





प्रतिक्रिया