अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीको बरहथवा नगरपालिकामा भोलि बिहानसम्मका लागि कर्फ्यू जारी

सर्लाहीको बरहथवा नगरपालिकामा भोलि बिहानसम्मका लागि कर्फ्यू जारी


सर्लाही-जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा कर्फ्यू जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि भोलि (सोमबार) बिहानसम्मका लागि लागू हुने गरी कर्फ्यू जारी गरेको हो।

२० पुसमा बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकाले कर्फ्यू जारी गरिएको सर्लाहीका प्रजिअ कोमलप्रसाद धमलाले जानकारी दिनुभयाे।

कार्यालयका अनुसार आइतबार दिउँसो १२ः४५ देखि भोलि बिहान ८ बजेसम्म पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती-चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यू जारी गरिएको हो।

उक्त क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ। स्थानीयको प्रदर्शनमा गत शुक्रबार एक जनाको मृत्यु भएको थियो।