अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय

पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय


झापा-पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो। धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ। अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ।

पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भक्का बनाउने गर्दछन्। यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरू समुदायलाई समेत आकर्षित गरेको छ। राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भक्का बनाउँछन्।

झापाको ग्रामीण बस्तीमा सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन्। सहरका गल्लीमा पनि भक्का पसल बढ्दै गएका छन्। ठूला तारे  होटलदेखि साना चिया पसलमा खाजाका रुपमा भक्काको बजार दिनानुदिन बढ्दै गएको छ।

‘भक्का राजवंशी समुदायको मौलिक परिकार हो’, साहित्यकार पवन राजवंशी भन्नुहुन्छ, ‘पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भक्का खानु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ।’ सयौँ वर्षअघि पूर्वी तराईको जङ्गलबीचको उब्जाउ जमिनमा राजवंशी समुदायको बसोबास भएको मानिन्छ। कहिलेदेखि भक्काको चलन सुरु भयो भन्ने यकिन नभए पनि राजवंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारका रुपमा भक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ।

भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ। चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताउनुहुन्छ। माछासँग पनि भक्का खाने गरिएको उहाँले बताउनुभयो। सात वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ। भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवद्र्धन गर्न दिवसको अवधारणा अघि सारिएको राजवंशी भाषा विकास समितिका अध्यक्ष अभय राजवंशीले बताउनुभयो।

यसपालि भद्रपुरको सिटी गार्डेन र विर्तामोडको डोमालाल रङ्गशालामा भक्का दिवस कार्यक्रमको आयोजना गरिएको छ। त्यहाँ राजवंशी समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ। विर्तामोडको कार्यक्रममा एक सय ५० राजवंशी महिलाले दुई हजार किलोग्राम चामलको पीठोबाट भक्का बनाउने भएका छन्। ख्यातिप्राप्त मास्टरसेफ सन्तोष राजवंशीलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ।

यही पुस २९ गते नै भद्रपुरमा राजवंशी समाज विकास समितिले कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष उत्तम राजवंशीले बताउनुभयो । कार्यक्रममा भारतीय कलाकारको समेत सहभागिता रहने उहाँले जानकारी दिनुभयो। राजवंशी समुदायको मौलिक खानेकुरा भएकाले उनीहरु नै भक्काको प्रचारप्रसारमा जुटेका छन्। भक्का दिवस पनि राजवंशी समुदायकै अग्रसरतामा मनाउन थालिएको हो। झापाको कचनकबल गाउँपालिकाले पुस २९ गते भक्का दिवसका अवसरमा बिदा दिने निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बताउनुभयो।