अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ गतेदेखि हुने

केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ गतेदेखि हुने


 काठमाडौं-राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरु हुने भएको छ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले केपी ओली कप फुटबल प्रतियोगितामा यस पटक विदेशी टिम समेत सहभागी हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस पटक हामीले अन्तर्राष्ट्रिय टिम समेत सहभागी गराउँदैछौँ। जुन नयाँ कुरा हो। भुटान र भारतबाट एक-एक टिम आउनेछन्।’ उहाँले कुन टिम आउने भन्ने विषयमा केही समयपछि जानकारी गराउने बतानुभयो।

उहाँका अनुसार आयोजकको केपी फुटबल क्लब र ७ वटा ए डिभिजनका क्लबहरु सहभागी हुने छन्।

नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसर पारेर युवा संघले गत वर्षदेखि केपी ओली कप फुटबल आयोजना गर्दै आएको छ। नेताको मृत्युपछि सम्मान गर्ने भन्दा पनि जीवनकालमै सम्मान दिने उद्देश्यले उनकै नामबाट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष थेवेले बताउनु भयो।

प्रतियोगितामा विजयी टोलीलाई ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ।

सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने। हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्ने छन् । यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रतियोगिताको खेलहरु च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने आयोजक युवा संघका अध्यक्ष थेवेले जानकारी दिनुभयो। फाइनल खेलमा मात्र टिकट राखिएको र त्यसबाट उठेको रकमको ५ प्रतिशत विभिन्न च्यारिटीमा खर्च गरिने उहाँले जानकारी दिनुभयो।