अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय सल्लाहकार परिषद्को पुरक बैठक पोखरामा सम्पन्न 

केन्द्रीय सल्लाहकार परिषद्को पुरक बैठक पोखरामा सम्पन्न 


पोखरा-नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को पुरक बैठक हालै पोखरामा सम्पन्न भएको छ। 

केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा बसेको बैठकमा देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिका बारेमा छलफल भएको थियो।

बैठकमा युवाहरूको विदेश पलायनबाट देश बृद्धाश्रमजस्तो हुन लागेको, सरकारले रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ पटक्कै ध्यान नदिएको, सरकारको रबैया अनुत्तरदायी, गैरजिम्मेवार र दमनकारी भएको ठहर गर्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको थियो।  

बैठकमा अधिकांश सदस्यहरूले देशको परिस्थितिका बारेमा चिन्ता व्यक्त गर्दै पार्टीले सडकदेखि सदनसम्म आवाज बुलन्द गर्नुपर्ने सुझाव राख्नुभएको थियो। 

बैठकमा पार्टीका सबै तहका संगठनहरूमा पद्धति, प्रणाली कमजोर बन्दै गएको विषयमा बस्तुनिष्ट मूल्याङ्कन र समीक्षा गरी संगठनलाई राजनीतिक र वैचारिक रूपमा सुदृढ बनाउनुपर्ने, विभिन्न तह र तप्काबाट आएका आलोचना र सुझावका आधारमा कार्यशैलीमा सुधार ल्याउनुपर्ने र पार्टीलाई आधारभूत बर्गबाट टाढा बनाउन नहुने विषयमा सदस्यहरूले जोड दिनुभएको सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले बताउनुभयो। 

बैठकलाई सम्बोधन गर्दै सल्लाहकार परिषद्का अध्यक्ष बोहराले सदस्यहरूले राख्नुभएका सुझावहरू पार्टीको सम्बन्धित निकायमा पुर्याउने कुरामा आश्वस्त पार्नुभएको थियो।

अध्यक्ष बोहराले परिषद् पार्टीका पुराना, पाका, अनुभवी र जुझारू योद्धाहरूको संस्था भएको हुँदा यसका सदस्यहरूले पार्टीमा जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो। 

अहिले पार्टीमा मार्क्सवादी साहित्य र पार्टीका दस्तावेजहरू अध्ययन गर्ने र आफ्ना दृष्टिकोण बनाउने सँस्कृति हराउँदै गएकोतर्फ ध्यानाकर्षित गर्दै बोहराले सल्लाहकार परिषद्का सदस्यहरू सबैले आफूलाई मार्क्सवादी विद्यार्थीको रूपमा व्यवहार गर्न आग्रह गर्नुभएको थियो। 

उहाँले मार्क्सवादका आधारभूत कुराहरूतर्फ ध्यानाकर्ष गराउँदै भन्नुभयो– सर्वप्रथम माक्र्सवादी बनौं। स्वार्थी अवसरवादी कहिल्यै नबनौं। हरेक तहको कमिटीमा खुल्ला र खुलस्त बनौं। आफ्नै साथीहरू विरुद्ध गोप्य षडयन्त्र र जालझेल नगरौं । जे जस्ता कुरा भए पनि कमिटीमा राख्ने हिम्मत गरौं। पार्टीले अवलम्बन गरेको सभ्य र सुन्दर समाजवादी लक्ष्यमा पुग्न एकताबद्ध बनौं। सानातिना मतभेदका नाममा कहिल्यै नफुटौं। बैठकमा प्रदेश अन्तर्गत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो।