अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार भ्रष्टाचार, तस्करी र कमिसनखोरीको संरक्षक बन्यो: अध्यक्ष ओली

गठबन्धन सरकार भ्रष्टाचार, तस्करी र कमिसनखोरीको संरक्षक बन्यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको बताउनु भएको छ।
नेपाल खेलकुद महासंघको पूर्ण बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको बताउनुभयो ।

अहिलेको गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको ओलीले बताउनुभयो । उहाँले गठबन्धन दलको वंश भ्रष्टाचारी र कमिशनतन्त्रीय, गोत्र निकम्मा र जात देशद्रोही भएको बताउनुभयो । ‘यी एकै वंशका, एकै नस्लका हुन्, भ्रष्टाचारी वंशका हुन्, यी कमिशनतन्त्रीय वंशका हुन्, यिनको गोत्र निकम्मा हो, यिनको जात देशद्रोही हो, त्यसकारण यी एकै ठाउँमा बस्छन्’, ओलीले भन्नुभयो ।

ओलीले गठबन्धन देशका लागि अत्यन्तै हानिकारक रहेको बताउनुभयो । गठबन्धनले देश बरबाद र राष्ट्रियतालाई कमजोर बनाएको ओलीले बताउनुभयो । ‘देशका स्रोतहरू बेचिसक्यो, हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुजाधुजा बनाइसक्यो, त्यसकारण समय घर्किनभन्दा अगाडि हामीले निर्णायक कदम चाल्नुपर्नेछ, यस कुराका लागि हामी तयार हुनुपर्ने छ’, ओलीले भन्नुभयो ।

गठबन्धन दलले एमालेमाथि जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको भन्दै अध्यक्ष ओलीले तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ, उनीहरू आतंकित छन्’, ओलीले भन्नुभयो ।