अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति नसुल्झिँदासम्म अरू नीति सुल्झिँदैन : अध्यक्ष ओली

राजनीति नसुल्झिँदासम्म अरू नीति सुल्झिँदैन : अध्यक्ष ओली



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीति ठिक दिशामा अघि नबढेको बताउनुभएको छ ।
शुक्रबार सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सबै नीतिलाई राजनीतिले नेतृत्व गर्ने बताउनुभयो । ‘राजनीति सुल्झिएन भने अरू शाखा नीति सुल्झिँदैनन्, पहिले राजनीति सुल्झिनु पर्छ, राजनीति नसुल्झिएकोले यस्तो भएको हो नेपालमा’, ओलीले भन्नुभयो ।
राजनीतिक दलले आफ्नो स्वार्थको लागि शैक्षिक संस्था वा अन्य सार्वजनिक निकायको दुरुपयोग गर्नु नहुने उहाँले बताउनुभयो । गुरुलाई देवता तुल्य मान्नु पर्नेमा उनीहरू नै असुरक्षित भएका ओलीको भनाइ छ । पढाइमा विनम्रता, मानवता, राष्ट्रियता, देशभक्ति, विकासशीलता सिकाउनु पर्नेमा ओलीले जोड दिनुभयो ।
उहाँले आफ्नो जिन्दगी अति कठिनाइका साथ गुज्रिएको बताउनुभयो । ओलीले आफूले जिन्दगीमा सुखभन्दा कठिनाइ धेरै खेपेको बताउनुभयो । ‘मेरो जिन्दगी एक दिनको घाम, सय दिनको पानी भने जस्तै छ, मेरो जिन्दगी त्यति कष्टपूर्ण ढङ्गले अघि बढ्यो, म दुःख, कठिनाइसँग पछि नहट्ने मान्छे हुँ, अहिले पनि म अलि बढी नै मेहनत गर्छु’, ओलीले भन्नुभयो ।
ओलीले आफू आवश्यक पर्दा चौबिसै घण्टा पनि खट्न सक्ने बताउनुभयो । त्यसरी काम गर्दा पनि आफू फ्रेस नै रहने उहाँको भनाइ छ । ‘अप्ठेरो आयो भने म धेरै अप्ठेरो दिनको परिकल्पना गर्छु, धेरै अप्ठेरो दिनको परिकल्पना गरेपछि त्यहाँसम्म पुग्नै पर्दैन, बराबरैबाट त्यो समाधान हुन्छ, मलाई धेरै होलो खुकुलो भइराखेको हुन्छ’, ओलीले भन्नुभयो ।
आफू कहिल्यै पनि चिन्तित भएर नबस्ने ओलीले बताउनुभयो । नभएका कुराको चिन्ता गरेर अर्थ नहुने ओलीको भनाइ छ । कुनै समस्या आयो भने चिन्ता होइन सामना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफू सरकारमा रहँदा धेरै अप्ठेरो खेपेर नागरिकमा आशा जगाउन काम गरेको ओलीले बताउनुभयो । आफूले राष्ट्रिय आत्मविश्वास जगाउने काम गरेको कारण व्यक्तिगत आत्मविश्वास पनि बढेको ओलीले दाबी गर्नुभयो । ‘अहिले राष्ट्र नै त्रासदीपूर्ण स्थितिमा छ’, उहाँले भन्नुभयो ।
अहिले देशमा विश्वासको वातावरण नै नभएकोले युवाहरू देश छाडेर हिँडिरहेका ओलीले बताउनुभयो । विश्वासको वातावरण नै नभएको कारण व्यवसायीले लगानी नगरेका ओलीको भनाइ छ ।