काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।
उक्त निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाडौंबाहिरका विमानस्थलमा राखेर काठमाडौंका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौँमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौँ ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौमा रात्रि बिसान नगरी काठमाडौँबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो ।
कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौँमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको एयरलाइन्सले जनाएको छ ।






प्रतिक्रिया