अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार पूर्ण रुपमा असफल भइसक्यो: प्रदीप ज्ञवाली

गठबन्धन सरकार पूर्ण रुपमा असफल भइसक्यो: प्रदीप ज्ञवाली


काठमाडाैं-नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएकाे बताउनुभएकाे छ।

आइतबार चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकारका कारण देशका सम्पूर्ण अंगहरु फेल भइसकेको र सरकार पूर्ण रुपमा असफल भएको बताउनुभयाे।

मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएकाे उहाँले बताउनुभयाे। उपमहासचिव ज्ञवालीले भन्नुभयाे, ‘गठबन्धन सरकार बनिसकेपछि देशका सम्पूर्ण अंगहरु, देशकाे अर्थतन्त्र, बाह्य सम्बन्ध, सामाजिक सम्बन्धहरु, देशका संवैधानिक अंगहरुकाे भूमिका अन्यन्त असहज अवस्थाबाट गुज्रिरहेका छन्, एक किसिमले भन्ने हाे भने मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएकाे छ।’

वर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै उहाँले अब हस्तक्षेपकारी भूमिका निर्वाहका लागि एमाले आन्दोलनमा जान लागेको बताउनुभयो। सरकारलाई गलत काम गर्न राेक्ने, विगतमा भएका गल्ती सच्याउन सरकारलाई दबाब दिन एमालेले शान्तिपूर्ण आन्दाेलन गर्न लागेकाे उपमहासचिव ज्ञवालीले प्रष्ट पार्नुभयाे। देश बन्दैन भन्ने भाष्य र जनतामा फैलाइएका निराशा ताेड्न एमाले जनताकाे बीचमा जाने उहाँले बताउनुभयाे। 

अहिलेकाे सरकार देशका लागि बोझ भइसकेको भएपनि तत्कालै सरकार ढाल्न सक्ने अवस्था भने नभएकाे उपमहासचिव ज्ञवालीले बताउनुभयाे । सत्तामा बस्ने सीमित व्यक्तिबाहेक याे सरकारसँग काेही सन्तुष्ट नरहेका भन्दै उहाँले कांग्रेस र माओवादीकै नेताहरु सरकारसँग असन्तुष्ट रहेकाे बताउनुभयाे।

उपमहासचिव ज्ञवालीले भन्नुभयाे, ‘सरकारका बस्ने केही सीमित व्यक्ति बाहेक यो सरकारसँग कोही सन्तुष्ट छैन, खुद सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्, कांग्रेसको उल्लेख्य हिस्सा अब हामी याे सरकारको डिफेन्स गर्न सक्न्दैनाैं भन्नुभएकाे छ, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले याे ढंगले त हाम्राे पार्टी मुख देखाउन नसक्ने अवस्थामा पुग्याे भन्न थाल्नुभएकाे छ, देशका निम्ति याे सरकार बाेझ भएकाे छ, यति हुँदाहुँदै पनि सरकार बदल्ने बाटो भनेको संसद्भित्रको संरचना हो।’

कांग्रेसले माओवादी नेतृत्वमा भइरहेका सारा क्रियाकलापमा आँखा चिम्लिने, माओवादी आफ्ना सबै सिद्धान्तलाई कांग्रेसको सत्ता स्वार्थसँग लगेर तिलाञ्जली दिने गरेको हुनाले संसदीय अंकगणितमा ठूलो परिवर्तन भइहाल्ने र तुरुन्तै सरकार परिवतएन भइहाल्ने सम्भावना आफूले नदेखेकाे उहाँले बताउनुभयाे।

विभिन्न स्वार्थका लागि अहिलेकाे गठबन्धन भइरहेकाे भन्दै उपमहासचिव ज्ञवालीले गठबन्धनलाई विभिन्न ढंगले टिकाउने प्रयास भइरहेकाे बताउनुभयाे। नीति सिद्धान्तलाई नालीमा बगाइदिएर सत्ता स्वार्थ मात्रै एक मात्र अभिष्ट भएपछि सत्ता टिक्नु ठूलाे कुरा नभएकाे भन्दै उहाँले देश, गणतन्त्र, जनताका आशा टिक्छन् कि टिक्दैनन् भन्ने मुख्य प्रश्न रहेकाे बताउनुभयाे। 

एमालेकाे उद्देश्य सरकार बदल्ने र सरकारमा जाने नरहेकाे उपहासचिव ज्ञवालीले प्रष्ट पार्नुभयाे। देशलाई बर्बाद हुनबाट जाेगाउने र जनतालाई आशावादी बनाउने काम एमालेकाे भएकाे उहाँले बताउनुभयाे।

उपहासचिव ज्ञवालीले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको बताउनुभयो । उहाँले भारतसँग हालै भएको सम्झौताले नेपाललाई दीर्घकालीन रुपमा असर पर्ने बताउनुभयाे।

उपहासचिव ज्ञवालीले बचतकर्ताको पैसा हिनामिना गर्ने सञ्चालकलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो। सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्छ भन्नु गैरजिम्मेवार कुरा भएको उहाँले बताउनुभयो।