अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सरकारलाई बुझायो जनताका ७५१ माग

एमालेले सरकारलाई बुझायो जनताका ७५१ माग


काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई जनताका ७५१ माग बुझाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरूले जनस्तरबाट आएका ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहित लिखित जानकारी गराएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।  

उपमहासचिव ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ जिल्लाबाट ७५१ वटा मागहरू प्राप्त भएका थिए । गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उहाँले बताउनुभयो । यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेसबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उहाँले बताउनुभयो ।

पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेस गरेका पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध पक्ष समेटेर प्रधानमन्त्रीलाई जनताको नासोका रूपमा बुझाएको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।  जसको कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको पनि उहाँले बताउनुभयो ।  

एमालेले मङ्सिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो ।