अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा इनर्जीको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने, तयारी तीव्र

झापा इनर्जीको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने, तयारी तीव्र


काठमाडौँ–झापा इनर्जी प्रालिले १० मेगावाट सौर्य ऊर्जा उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडेको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवै भन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना हो ।

झापा इनर्जी परियोजनाको आगामी माघ २३ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्यानलको १२ मेगावाट उत्पादन गर्ने क्षमता रहेको र १० मेगावट विद्युत् प्राधिकरणमा जोडिएको संघीय सांसद तथा एमाले प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले जानकारी दिनुभयो ।

साँवाले नागरिकलाई उत्पादनसँग जोड्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको र ऊर्जालाई पर्यटनसँग जोड्नका लागि अन्य बाहिरी कामहरु सुरु गरिएको बताउनुभयो ।

 उद्घाटनको व्यवस्थापनका लागि एमाले केन्द्रीय सदस्य दीपक कार्की, कार्यवाहक अध्यक्ष प्रेम गिरी, जिल्ला सचिव शिव ढुंगेल, प्रदेश कमिटी सदस्य, एमाले नगर कमिटीले संयुक्त रुपमा छलफल गरेका छन् ।  

पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । सांसद एलपी साँवाको नेतृत्वमा ८१ करोड रुपैयाँको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ ।

 झापा इनर्जी प्रालि र प्राधिकरणबिच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो ।सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।