काठमाडौं–जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँलगायत केही स्थानमा छिटफुटदेखि हल्का वर्षा भएको जनाएको छ।
मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँका गोङ्गबु, चाबहिल, बालाजु र महाराजगन्जलगायतका स्थानमा छिटफुट वर्षा भएको हो।
उहाँले भन्नुभयो, ‘काठमाडौँका एक/दुई स्थानमा छिटफुट मात्र वर्षा भयो, केहीबेर पर्यो अनि रोकियो ।’
तत्काल ठुलो पानी पार्ने प्रणाली आउने सम्भावना भने नरहेको उहाँको भनाइ छ। अहिले पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा भएको हो। अन्य दिनको तुलनामा आज बढी चिसो समेत भएको छ।
काठमाडौँ उपत्यकाबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद् मानन्धरको भनाइ छ। मनाङ, सोलुखुम्बु, हुम्लालगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ। यी क्षेत्रमा भोलि पनि हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
भोली पनि पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लाग्नेछ। तर केही दिन पानी पर्ने सम्भावना नरहेको उहाँ बताउनुहुन्छ।






प्रतिक्रिया