अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा सदस्यका लागि जनकपुरधाममा मतदान जारी

राष्ट्रियसभा सदस्यका लागि जनकपुरधाममा मतदान जारी


धनुषा-राष्ट्रियसभाको १९ सिटका लागि आज मतदान जारी छ। विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने छ । अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको हो । अर्का एकजना मनोनित हुनेछन्।

सातवटै प्रदेशमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ। मधेस प्रदेशमा अन्य र महिला समूहतर्फ दुई राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना अन्य समूह र महिलातर्फ जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । ढुङ्गाना धनुषाका हुन् भने चौधरी रौतहटका हुन्। एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीको उम्मेदवारी परेको छ । झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् । जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा रामशङ्कर महासेठको उम्मेदवारी छ । मधेस प्रदेशमा प्रदेशसभाका एक सय सात र पालिका प्रमुख र उपप्रमुख गरी दुई सय ६७ मतदाता छन्।

पालिका प्रमुख-उपप्रमुखको कुल मतभार पाँच हजार ५३ र प्रदेश सांसदको कुल मतभार पाँच हजार छ सय ७१ गरी जम्मा १० हजार सात सय २४ मतभार छ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदानस्थल रहेको जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्र नजिकको क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ।

मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । निर्वाचनको नतिजा तीन–चार घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ।