अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीमा गठबन्धनका उम्मेदवारहरु विजयी

बागमतीमा गठबन्धनका उम्मेदवारहरु विजयी


हेटौँडा-राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा रहेको मतदान स्थलमा बिहीबार भएको मतदानपछि भएको मतगणनाको मत परिणामअनुसार यस प्रदेशबाट चारैजना राष्ट्रिय सभा सदस्य सत्ता गठबन्धनबाट विजयी हुनुभएको छ।

अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्यगरी चार क्षेत्र (क्लष्टर) बाट राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन भएको थियो। नेपाली कांग्रेसबाट अन्यतर्फ जीतजङ्ग बस्नेत, महिलातर्फ विष्णुदेवी पुडासैनी, अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र) का श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फबाट नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल विश्वकर्मा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलले बस्नेत, पुडासैनी, अधिकारी र विश्वकर्मा विजयी भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभयो । 

बस्नेतले छ हजार ५३१ मतभार प्राप्त गर्दा र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का त्रिलोचन निर्मल पौडेलले दुई हजार ३५९ मतभार प्राप्त गर्नुभएको छ । यस्तै पुडासैनी छ हजार ६२२ मतभार र उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका रोचकुमारी चौलागाईले दुई हजार ५५२ मतभार प्राप्त गर्नुभएको निर्वाचिन अधिकृतको कार्यालयले जनाएको छ।

साथै अधिकारीले छ हजार ३८३ मतभार र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विवेक देवकोटाले दुई हजार ७३४ मतभार प्राप्त गर्नुभयो । यसैगरी घनश्याम रिजाल विश्वकर्माले छ हजार ५१२ मतभार र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गर्नुभएको छ । 

निर्वाचनमा प्रदेश सभाका १०८ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३४ जना गरी ३४२ जनाले मतदान गरेका थिए । 

प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १९ कायम गरिएको छ । प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको गरी कुल मतभार १० हजार ३३३ रहेको छ ।

मतदान विहान ९ बजेदेखि सुरु भएको र दिउँसो ३ बजे सम्पन्न भएको थियो । राष्ट्रिय सभा सदस्यका लागि यस प्रदेशमा १५ जना उम्मेदवार रहनुभएको थियो । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महिलातर्फ बालकुमारी डल्लाकोटी, अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजङ्ग गुरुङ उम्मेदवार रहनुभएको थियो।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट अपाङ्गतातर्फ हिमालयश्वर मुल, अन्यबाट श्रीकृष्ण महर्जन, दलिततर्फ सङ्गीता नेपाली र महिलातर्फ कृष्णलक्ष्मी दुवालको उम्मेदवारी रहेको थियो।