अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपाल खौरेर बुवाको किरिया बस्नुभयो एमाले नेतृ उषाकला राई

कपाल खौरेर बुवाको किरिया बस्नुभयो एमाले नेतृ उषाकला राई


काठमाडौं-नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राई कपाल मुण्डन गरेर बुवाको काज-किरियामा बस्नुभएको छ।

कोशी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री एवम् संविधानसभा सदस्यसमेत रहेकी राईका पिता ८७ वर्षीय रुद्रकुमार राईको बिहीबार राति काठमाडौंमा निधन भएको थियो।

बुवाको निधनपछि कपालसमेत मुण्डन गरेकी उहाँले काठमाडौंस्थित आफ्नो घरमै काज-किरिया थाल्नु भएको हो। 

उषाकलाले नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा बुवाको अन्तिम संस्कारका क्रममा दागबत्ति दिनु भएको थियो। त्यसपछि उहाँ कपाल मुण्डन गरेर घरमै किरियापुत्री बसेकी हुन्।

उषाकला ६ दिनसम्म काठमाडौंमा किरिया बसेर बाँकी ७ दिनको संस्कार  पूरा गर्न जन्मथलो खोटाङ जाने पति एवम् एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका उषाकलाका पिता साविक खाल्ले गाविसका पूर्वगाविस अध्यक्ष हुन्। उहाँ नेकपा एमाले जिल्ला कमिटी खोटाङका तत्कालीन सचिव थिए। उहाँ हाल नेकपा एमालेनिकट जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय केन्द्रीय सदस्य पनि थिए।

उषाकला रुद्रकुमारकी एक मात्रै सन्तान हुन्। उषाकलाले यसअघि २०७५ साल पुसमा आमाको निधन हुँदा पनि कपाल मुन्डन गरेर काज–किरिया गर्नुभएको थियो ।

उषाकलाले सिन्धुपाल्चोक घर भएका पूर्वमन्त्री शेरबहादुर तामाङसँग विवाह गर्नु भएको हो । पछिल्लो समय छोरीहरू पनि बुवाआमाको निधन हुँदा किरिया  बस्ने गरेका छन्।