अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जोसुकैले एसिड पाउने अवस्था अन्त्य गर्नुपर्छ: अध्यक्ष ओली

जोसुकैले एसिड पाउने अवस्था अन्त्य गर्नुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जोकोहीले पनि एसिड प्राप्त गर्न सक्नेलाई रोक्न आवश्यक रहेको बताउनुभएको छ। 

एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाका पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ को घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। 

अध्यक्ष ओलीले एसिड परिभाषित रुपमा मात्र प्राप्त गर्नसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रशासनिक सजगताबिना एसिडको उपलब्धता हुन नहुने भन्दै के प्रयोजन, कुन मात्रामा किनेको हो ? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्र एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले घटना हुन नदिन सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सरकारको ध्यानाकर्षण त यो कार्यक्रममार्फत आफैँ भएको छ। यस फिल्मको निर्माण सन्दर्भमा निर्माण भइसकेपछि यसलाई जब हामी प्रसारण गर्दछौँ, त्यसको सन्दर्भमा पनि ध्यानाकर्षण हुनेछ। तर त्यसबाहेक मैले यस सन्दर्भमा शीर्ष नेताहरुको तहमा प्रधानमन्त्रीजीलाई भेटेरै कुरा गर्नेछु । एजेण्डामा छलफल गर्नेछु।’ 

यस्तो घटना पुनः नहोस् भन्नेमा सबैजना सचेत बन्नुपर्ने अध्यक्ष ओलीले बताउनु भयो। ‘यो प्रशासनिक सजगताबिना एसिडको उपलब्धता नै हुनुहुँदैन। के प्रयोजनका लागि कसरी भन्ने कुरा, कसले एसिड किनेको हो ? के प्रयोजनका लागि किनेको हो ? कुन मात्रामा किनेको हो ? प्रयोग भइसकेपछि त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्र एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेलाई मात्र उपलब्ध गराउने परिपाटीको विकास गर्नुपर्छ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘तरकारी पसलबाट तरकारी किनेर ल्यायो। पकाएर खायो कि फाल्यो, जस्तो कुरा यो होइन” अध्यक्ष ओलीले भन्नुभयो, “त्यसको प्रयोगबारेको रिपोर्ट पनि प्रशासनले दिनुपर्छ।’

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बताउनुभयो। अरु कुनै पनि सजाय दिन सकिने उहाँले स्पष्ट पार्नुभयो।