अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रका साझा मुद्दामा संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरु एक हुनुपर्छ: सभामुख घिमिरे

राष्ट्रका साझा मुद्दामा संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरु एक हुनुपर्छ: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको बताउनु भएको छ।

प्रतिनिधि सभाको तेस्रो अधिवेशनकोसुरू भएको अवसरमा उनले संक्षिप्त मन्तव्य व्यक्त गर्दै विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ भएकाले संसदमा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धता जरुरी रहेको उल्लेख गर्दै संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्ने घोषणा गर्नु भएको हो।

यस्तो छ, उहाँको संक्षिप्त मन्तव्य

सभामुखको सम्बोधन जस्ताको तस्तैः

प्रतिनिधिसभाको तेस्रो अधिवेशन सुरु भएको यस अवसरमा म माननीय सदस्यज्यूहरुलाई हार्दिक स्वागत गर्दछु । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण थलो हो । संसदीय प्रणालीमा संसदको काम कानून निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानून बनाइ सहयोग गर्ने पनि हो ।

विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु । ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएका छन् । चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु । राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनैपर्छ ।

विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसदमा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ । संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं ।

संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतमाथि छलफल गर्दैछौं । संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ । किनभने लोकतन्त्रमा जनता सबैभन्दा माथि हुन्छन् । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दछु ।