काठमाडौँ– नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी ट्रयाक्टरसँग ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ बीआर ०६ पिडी ९६४८ नम्बरको जिप (बोलेरो) मलंगवा–नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज१ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते हुनुभएको थियो ।
दुर्घटनामा घाइते हुनुभएका सर्लाहीको बागमती नगरपालिका–५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको छ । उहाँको वीरगञ्ज नजिक रहेको एनएस न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप (बोलेरो) का चालक मलंगवा-३ का रामलाल साह पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते हुनुभएको छ ।
प्रतिक्रिया