काठमाडौं – बसाँइसराइका कारण उत्पन्न हुन सक्ने चुनौति र अवसरलाई समयमै सम्बोधन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । त्रिभूवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभाग -सिडिपिएस र अन्तराष्ट्रिय बसाँइसराइ सम्बन्धी संस्था आइओएमले सुरु गरेको बसाँइसराइ व्यवस्थापन श्रृंखलाको पहिलो भागमा सहभागी विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा.हेमराज रेग्मीले राष्ट्रिय जनगणना २०७८ ले देखाएको बसाँइसराइको अवस्था प्रष्तुत गर्नुभएको थियो । रेग्मीको प्रष्तुती अनुसार नेपालमा कुनै बेला एक दशकमा ३० प्रतिशतसम्म जनसंख्या बढेको थियो । तर राष्ट्रिय जनगणना २०७८ मा करिब १० प्रतिशत मात्र जनसंख्या बढेको छ । ‘नेपालमा अब जनसंख्या वृद्धि समस्या होइन वितरण समस्या हो ’ रेग्मीले भन्नुभयो ‘बसाँइसराइका कारण नै हिमालको जनसंख्या वृद्धिदर ऋणात्मक छ । पहाडमा न्यून वृद्धिदर छ भने मधेसमा १७ प्रतिशतसम्म् वृद्धिदर छ । यसको व्यवस्थापन चिन्ताको विषय हो । ’
जनसंख्याको यो बहावले तराईमा स्रोत र साधनको अभाव हुने,खेति गर्नलाई जमिन पाउन मुस्किल हुने समस्या देखिन थालेको रेग्मीको भनाइ छ । रेग्मीले कुल जनसंख्याको ३२ प्रतिशत मानिसहरु आफू जन्मिएको जिल्ला भन्दा अर्को पालिकामा बसाँइ सरेको बताए । यस हिसाबले करिब ९० लाख मानिसहरु बसाँइसराईमा संलग्न भएको देखिन्छ । अझ रोचक कुरा त के देखिन्छ भने करिब ४४ लाख मानिसहरु जनगणनाको समयमा आफ्ना घरमा थिएनन् । उनीहरु मध्ये २२ लाख ७२ हजार २ सय ३६ जना स्वदेश कै कुनै अध्ययन,रोजगारी,आश्रित वा अन्य कुनै कारणले घर छोेडेर बसेका थिए । त्यस्तै गरेर २१ लाख ९० हजार ५ सय ९२ जना देश बाहिर गएका छन् । यस हिसाबले करिब १५ प्रतिशत जनसंख्या घर भन्दा बाहिर कुनै काम विशेषले बसेको देखिन्छ ।
रेग्मीको प्रष्तुतीमा अर्को रोचक तथ्यांक पनि के देखिन्छ भने नेपालमा ७ लाख ४३ हजार जनसंख्या विदेशमा बसेको देखिन्छ । त्यस मध्ये ९७ प्रतिशत भारतमा जन्मेका देखिएको छ ।
उक्त डिस्कोर्समा बसाँइसराइको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रा।डा।योगेन्द्र बहादुर गुरुङ,प्रा.डा.दिनेश भुजू,प्रा.डा. अर्जुन बराल र प्रा.डा. शोभा श्रेष्ठले छलफल गरेका छन् । । सिडिपिएसका सहप्राध्यापक डा.उद्वव सिग्देलले मोडरेट गर्नुभएको सो प्यानल डिस्कसमा प्रा.डा. गुरुङले बसाँइसरुवाका बारेमा विविध प्रकारका अध्ययन हुन आवश्यक रहेको बताए । एउटा बसाँइसरुवाले किन बसाँइसर्यो भन्ने कुराको पहिचान भयो भने अरु बसाँइसरुवालाई रोक्न सकिन्छ भन्नेमा उनको जो थियो । विगत ६० वर्षको अनवरत प्रयासले जनसंख्या नियन्त्रण भएकोले अब जनसंख्या व्यवस्थापनमा सबैको जोड हुनुपर्ने उहाँले बताए ।
खासगरी हिमाल पहाडबाट तराईतर्फ भइरहेको बसाँइसराइको प्रवृतिले यो भूगोल कन आकर्षणको केन्द्र बन्दै गएको छ र पहाड र हिमाल किन विकर्षणको केन्द्र भइरहेको छ भनेर खोज्नु पर्ने गुरुङले बताउनुभयो । ‘मधेसका अधिकांस ठाउँमा पहाडमा भन्दा नराम्रा सुचकहरु छन् ।गरिबी पनि धेरै छ । शिक्षाको अवस्था नाजुक छ । स्वास्थ्य कमजोर छ तथापी मानिसहरु तराईमै किन आउन खोज्छन् ?’ गुरुङले भन्नुभयो ‘नेपालको तराई लिंक लाइन भएकोले अरु सम्भावनाको खोजी जस्तै भारत जाने,तेस्रो जानेका लागि पनि लिंक लाइनचाँही मधेस नै भएको छ । ’ गुरुङले ११ वटा जातिको जनसंख्या १ हजार भन्दा कमी भएकोले उनीहरुका लागि सन्तानवृद्धिमा प्रोत्साहन दिने कार्यक्रम लागु गर्नुपर्ने बताउनुभयो ।
प्रा.डा. भुजूले नागरिकता विहिन नागरिकको परिकल्पना गर्ने हो बसाँइसराइको इस्यू नै सकिने बताउनुभयो । उनले रुख विरुवा त क्रमश हिमालतिर बसाँइसर्ने क्रम बढ्दै गएकोले मानिस सर्ने कुरालाई अन्यथा लिन नहुने बताउनुभयो । ‘हरेक वर्ष ट्रि लाइन भन्दा माथी १.६ देखि २ मिटरसम्म विरुवाहरु सर्दै गएका छन् ’ उनले भने ‘त्यसैले गतिशिल मानवजातीलाई बसाँइसराइ नगर भनेर भन्न सकिदैन ।’
प्रा.डा. अर्जुन बरालले सेडाले गरिरहेका अध्ययन र अनुसन्धानका विषयमा जानकारी गराउनु भएको थियो । खासगरी बैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुसँग विविध विषयमा अनुसन्धान गरेर प्रतिवेदन तयारीको क्रममा रहेको उहाँले बताए ।
प्रा.डा.शोभा श्रेष्ठले काठमाडौं उपत्याकाको उत्तरपूर्वी क्षेत्र बसाँइसरुवाको केन्द्र भएको बताउनुभयो । टोखा,बुढानिलकण्ठ,कागेश्वरी मनहरा,चागुनारायण,सूर्यविनायक,मध्यपुरथिमी,महालक्ष्मी जस्ता नगरपालिकामा आन्तरिक बसाँइसरुवाहरु अत्याधिक भएको उहाँको भनाइ छ । दक्षिणकाली र शंकरापुर जस्ता नगरपालिकामा बसाँइसराइ ज्यादै न्यून रहेको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा सहप्राध्यापक डा.पदमप्रसाद खतिवडाले स्वागत तथा कार्यक्रमको औचित्यका बारेमा स्पष्ट पार्नु भएको थियो । सहभागीहरुलाई प्रा.डा.महेन्द्र शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यो श्रृंखलाको आगामी सेसन सिडिपिएस किर्तिपुरमा हुनेछ ।
प्रतिक्रिया