अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन अघिको गठबन्धनका कारण मुलुक अफ्यारोमाः महासचिव पोखरेल

निर्वाचन अघिको गठबन्धनका कारण मुलुक अफ्यारोमाः महासचिव पोखरेल


रुपन्देही-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तामा टिकिरहने सत्तागठबन्धन आबद्ध दलहरूका सोचले मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको बताउनुभएको छ।

एमाले रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको बताउनुभएको हो।

पोखरेलले भन्नुभयो, ‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन्। ऋण दैनानुदिन बढिरहेको छ। जनता गरिबीले छट्पटिएका छन्। युवा विदेश जान बाध्य छन्।’

एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने र देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो। आन्दोलन संस्थागत गर्ने बेला कांग्रेसले जहिल्यै धोका दिने गरेको उहाँले आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, ‘कांग्रेस सधै यथास्थितिको पक्षधर हो, उसले नकोली बसेपनि हुन्छ, तर एमाले परिवर्तनको नेतृत्व गर्ने पार्टी हो, त्यसैले आफ्ना विचार समाजका अगाडि राखिरहनुपर्छ तर हामी केही समययता हामी कमजोर भएका छौं भनेर स्वीकार गर्नुपर्छ अब त्यसो गर्नुहुँदैन।’

‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए। कांग्रेस पनि जिम्मेवार पार्टी हो। हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ। इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गर्नुपर्ने थिएन। ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ।

सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्णरूपमा संस्थागत हुन नसकेको उहाँको भनाइ छ। दुर्गा प्रसाईजस्ता नेता बेलाबखत पार्टीमा जन्मने उहाँले बताउनुभयो। आफ्नो स्वार्थ पूरा नभएपछि धोका दिएर जाने गरेको उहाँको टिप्प्णी छ। प्रसाईँ अराजकताको प्रतिनिधि भएको उहाँले आरोप लगाउनुभयो। यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो।

कलात्मक हिसाबले पार्टीमा आउँछन् र धोका दिएर जाने हुँदा आगामी दिनमा यस्ता अराजक नेताप्रति बेलैमाथि सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ। ‘कुराभन्दा काम गर्ने बेला आएको छ। जनताले कामको मूल्यांकन गर्छन्’, उहाँले भन्नुभयो ‘जनताको माग र आवश्यकताको आधारमा काम गर्न सक्नुपर्छ।’

जितको ठाउँको रक्षा गर्ने र नयाँ स्थानीय तहमा आगामी निर्वाचनमा जित हासिल गर्ने गरी पार्टीका गतिविधि प्रभावकारी ढंगले सञ्चालन गर्न महासचिव पोखरेलले निर्देशन दिनुभयो। एमालेको नेतृत्व बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने उहाँको भनाइ छ।

अन्य दलले भन्दा फरक काम गर्नुपर्ने, जनताको हितमा काम गर्नुपर्ने र जनजीविकासँग जोडेर कार्यक्रम सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो।