काठमाडौं-राष्ट्रिय सभा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले कालो धनलाई सेतो बनाउन दिने कानूनी प्रपञ्च मान्य नहुने चेतावनी दिनु भएको छ।
सोमबार राष्ट्रिय सभामा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा भाग लिँदै दाहालले कुनै अपराधबाट कमाएको होइन भनेर स्वघोषणा गर्दा आयकर काटेर बाँकी छुट दिने व्यवस्थाले आशंका पैदा गराएको बताउनुभयो। ‘त्यस्तो सम्पत्ती कहाँबाट आउँछ, के आकाशबाट झर्छ’ भन्दै प्रश्न गर्दै उहाँले यसरी कालो धनलाई सेतो बनाउने प्रपञ्च मान्य नहुने बताउनु भएको थियो।
यसैगरी नेता दाहालले क्यासिनोका सम्वन्धमा रहेका अस्पष्ट व्यवस्थाहरुलाई स्पष्ट बनाउन समेत सदन मार्फत कानूनमन्त्री समक्ष माग राख्नु भएको थियो। उक्त विधेयकका बारेमा धारणा राख्दै एमाले प्रमुख सचेतक भैरवसुदर श्रेष्ठले समेत विधेयकका कयौ विषयहरु अस्पष्ट रहेको भन्दै प्रष्ट बनाउन आग्रह गर्नु भयो। सो क्रममा उहाँले विधेयकमा रहेका कतिपय व्यवसथाले अबैध सम्पत्तीलाई बैध बनाउन कानूनमै व्यवस्था गरिन लागिएको भन्दै त्यस्तौ कुरा मान्य नहुने समेत बताउनुभयो।
सांसदहरु भगवती न्यौपाने, बिमला राई पौडेल, दिलकुमारी रावल थापा पार्वती, तुलसाकुमारी दाहाल, रामचन्द्र राई सहित राधेश्याम पासवानले पनि धारणा राख्नु भएको थियो। सांसदहरुको प्रश्न पछि कानूनमन्त्री धनराज गुरुङले जवाफ दिनुभएको थियो।
प्रतिक्रिया