अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा हात्तीबाट जोगिन बसाइ सर्नेको संख्या बढ्यो

झापामा हात्तीबाट जोगिन बसाइ सर्नेको संख्या बढ्यो


झापा-चनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ।

दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन्। पालिकामा चार वर्षको अवधिमा एक हजार ६०८ घरपरिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटकपटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइ सर्न बाध्य भएको बताउनुभयो। हाल उहाँको परिवार गत जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि कमल गाउँपालिका–६ मङ्गलबारे डेरा गरेर बसेको छ। 

'दुःख गरेर घर बनायो वर्ष दिन नपुग्दै हात्तीले भत्काइदिन्छ', उहाँले भन्नुभयो, 'धेरैपटक घर भत्काएपछि हामीलाई पनि कुन दिन सुतेकै ठाउँमा मार्छ होला भन्नेभयो, अब नहुने रहेछ भन्ने लागेर ज्यान जोगाउनकै लागि बसाइ सर्यौं।' चार दशकदेखि सो स्थानमा बसोबास गर्दै आएको सुवेदी परिवार हात्तीबाट ज्यान जोगाउन बसाइ सरेको हो। 

उहाँका अनुसार दिनभर जलथल जङ्गलमा बस्ने जङ्गली हात्ती साँझ नपर्दै दैनिक गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि बाध्य भएर सुवेदी परिवारलगायत अन्य स्थानीय पनि सुरक्षित स्थानमा बसाइ सर्न थालेका हुन्। हाल कचनकवलका वडा-१, २ र ३ बाट बसाइ सर्नेको सङ्ख्या बढिरहेको छ। 

पालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका प्रमुख खेमराज भट्टराईले प्रत्येक वर्ष अन्य स्थानबाट आउनेको तुलनामा तेब्बर सङ्ख्या बसाइ सरेर अन्यत्र गइरहेको जानकारी दिनुभयो। उहाँले चार वर्षको अवधिमा अन्य स्थानबाट बसाइ सरेर आउनेको सङ्ख्या ७५९ रहेको र जानेको सङ्ख्या एक हजार छ सय आठ रहेको बताउनुभयो।

उहाँले विसंं २०७७ मा चार सय २६, २०७८ मा चार सय ४६, २०७९ मा चार सय ३० र २०८० को हालसम्ममा तीन सय छ परिवार पालिकाबाट बसाइ सरेर अन्य स्थानमा गएको जानकारी दिनुभयो। यस क्षेत्रबाट मानिसहरु विर्तामोड, दमक, चारआली, बुधबारेलगायतका क्षेत्रमा बसाइ सरेर गएका छन्।