दाङ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत देउखुरीको पिपरीमा स्कारपियो जीपको ठक्करबाट साइकलमा यात्रा गरिरहेका एकैघरका दिदी बहिनीको मृत्यु भएको छ । जीपले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षिया राधा बस्नेत र उनकी बहिनी १६ बर्षिया बिपना केसीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको प्र ३–०१–०२२ च–१३६९ नम्बरको जीपले बुधबार बेलुका सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतलाई लमही अस्पतालले मृत घोषणा गरेको थियो । केसीलाई उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
मृतक एकैघरका दिदीबहिनी रहेको र राधाको प्युठानमा विवाह भएको मल्लले बताउनुभयो । घटनापछि जीप चालक फरार रहेको उनको खोजी भइरहेको मल्लले बताउनुभयो ।






प्रतिक्रिया