अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारविरुद्ध आन्दोलन गर्ने एमालेको निर्णय

गठबन्धन सरकारविरुद्ध आन्दोलन गर्ने एमालेको निर्णय


काठमाडौँ-नेकपा एमालेले केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० सम्म केन्द्रीय समिति बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।  

सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ। राजनीतिक स्थितिको समीक्षा, सङ्गठनात्मक प्रतिवेदन, सङ्गठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा केन्द्रीय समिति बैठकका प्रमुख एजेन्डा तय गरेको महासचिव पोखरेलले जानकारी दिनु भयो । साथै पार्टी निर्माणका सवालमा एमालेलाई व्यवस्थित र बलियो शक्तिका रूपमा स्थापित गर्न सकिने उपायका बारेमा समेत केन्द्रीय समिति बैठकमा छलफल हुने महासचिव पोखरेलको भनाइ छ।

एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय समेत गर्नेछ। महासचिव पोखरेलले भन्नुभयो, ‘सरकारलाई दबाब दिन जनपरिचालन गर्ने बारेमा समेत केन्द्रीय समितिले निर्णय गर्नेछ।

एमालेले केन्द्रीय कार्यालय भवन बनाउन सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ सङ्कलन गर्ने निर्णय समेत गरेको छ। बैठकले केही विभागमा मनोनयन गरेको भन्दै महासचिव पोखरेलले भन्नुभयो, ‘प्रचार तथा प्रकाशन विभागमा तीन जना थप्ने निर्णय भएको छ। जसमा मणिराज बास्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका छन्।’