अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीवन बहादुर शाहीले कर्णाली सरकारबाट बाहिरिने धारणा किन हटाए ?

जीवन बहादुर शाहीले कर्णाली सरकारबाट बाहिरिने धारणा किन हटाए ?



काठमाडौँ– – सामाजिक सञ्जालमा सरकारबाट हट्नु उपयुक्त भन्ने आशय ब्यक्त गरेका कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले केहीबेर अघि सो पोष्ट हटाउनु भएको छ । सामाजिक सञ्जालमा लेखेको केही समयपछि शाहीले पोष्ट किन हटाउनुपर्यो भन्ने विषय अहिले चर्चामा छ । शाहीको पोष्टले कर्णालीमा माओवादी र काँग्रेसको ठूलो खटपट भइसकेको कुरा बुझ्न कुनै गाह्रो छैन । शाहीले सरकारप्रति तिव्र असन्तुष्टी बाहिर ल्याएपछि धेरैले नेकपा कालको कर्णालीको सम्झना गरेका छन् । त्यसबेला पनि नेकपा विभाजनको बीउ यही प्रदेश सरकारबाट भएको थियो ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन नसकिने धारणा दिएको दुईदिनपछि कर्णालीका काँग्रेस नेता शाहीको सरकार छोड्ने अभिव्यक्ति संयोग मात्र होइन । संघ देखि प्रदेशसम्म नै यी दुई पार्टीमा खटपटको आकार बढीरहेको सहजै अनुमान गर्न सकिन्छ । नेता शाहीले अराजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको उल्लेख गर्नुभएको थियो । यस्तै उहाँले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन आग्रह पनि गर्नुभएको थियो ।
उहाँले फेसबुकमा लेख्नु भएको थियो , ‘यो अराजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त हो । सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरूले व्यवस्थापन गर्दा राम्रो होला ।’
हिजो साँझ नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमार्फत सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । स्रोतका अनुसार काँग्रेस उपसभापति एवं उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले शाहीलाई यस्ता विवादास्पद कुरा सार्वजनिक नगर्न निर्देशन गरेपछि शाही आफ्नो धारणाबाट पछि हट्नु भएको हो । तर शाही निकटहरुका अनुसार सामाजिक सञ्जालबाट धारणा हटाए पनि उहाँको मन र गतिविधीबाट त्यो धारणा हटेको छैन । उहाँ कर्णालीमा गठबन्धन ातोड्न अडिग हुनहुुन्छ ।
कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट तीन जना मन्त्री हुनुहुन्छ । जसमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णबहादुर बिसी मन्त्री हुनुहुन्छ ।
कर्णालीमा मात्र नभई गठबन्धनभित्र काशी प्रदेश केन्द्रसम्म असन्तुष्टि देखिएको छ । माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीमा गठबन्धनबाट माओवादीका उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएको हो । यस्तै कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा माओवादीले असन्तुष्टि राख्दै आएको छ । यस्तै पछिल्लो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग गठबन्धन फलदायी नभएको टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्रीको भनाइप्रति काँग्रेस नेताहरुले असन्तुष्टि भएका छन् । गठबन्धनका नेताको अभिव्यक्ति र सरकारमा देखिएको खटपटले गठबन्धन लामो समयसम्म टिक्न नसक्ने देखिएको छ ।
यसअघि नेकपा समयमा पनि कर्णाली प्रदेशबाट नै सरकारदेखि पार्टी समेत विभाजन भएको थियो । तत्कालीन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका कामप्रति एमाले पक्षले असन्तुष्टि राखेको थियो । जसले गर्दा पार्टी विभाजन र केन्द्रदेखि सबै प्रदेशमा सरकार परिवर्तन भएका थिए ।
अहिले पनि कोशी हुँदै संघ र कर्णाली प्रदेशसम्म विवाद देखिएको छ । कर्णाली प्रदेशबाट कांग्रेस मन्त्रीहरु फिर्ता भए भने सरकार ढल्ने सम्भावना रहेको छ । जसले गर्दा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई सरकारको बाटो खुला हुने सम्भावना पनि रहेको छ ।