अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले मेलम्चीवासीको माग सम्बोधन गर्नुपर्छ : सुरेन्द्र पाण्डे

सरकारले मेलम्चीवासीको माग सम्बोधन गर्नुपर्छ : सुरेन्द्र पाण्डे



काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मेलम्चीवासीको माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
मेलम्ची खानेपानी आयोजना र मेलम्चीमा आएको बाढीबाट प्रभावित भएकाको माग सरकारले सम्बोधन गर्नुपर्ने पाण्डेले बताउनुभयो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ अम्बाथान स्थित मेलम्ची खानेपानीको मुहान स्थलगत अनुगमन गर्न गएको एमाले टोलीको तर्फबाट स्थानीयसँग भएको छलफलका क्रममा उपाध्यक्ष पाण्डेले मेलम्ची आयोजना तथा २०७८ सालमा आएको मेलम्चीको बाढीबाट प्रभावित बनेका स्थानीयका माग सम्बोधन गर्न एमालेले पहल गर्ने बताउनु भयो । पाण्डेले प्रभावित स्थानीयको बसोबास र खेतीपातीका लागि सरकारले पहल गर्नुपर्ने प्रष्ट पार्नुभयो ।
मेलम्ची खानेपानी तथा बाढी पीडित संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै उपाध्यक्ष पाण्डेले बाढीबाट प्रभावित स्थानीयका जायज माग सम्बोधन गराउन पार्टी निरन्तर लाग्ने बताउनुभयो ।
खानेपानी, सहरी विकास, भौतिक पूर्वाधार, गृह र अर्थ लगायत सरोकारवाला सबै मन्त्रालयको ढोका ढोकामा स्थानीयलाई लिएर एमाले पुग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘तपाईँहरूले काठमाडौँलाई पानी दिन्न भन्नु भएको पक्कै होइन, तपाईँहरूका आफ्ना समस्या छन्, बाढीले सिर्जना गरेको समस्यामा तपाईँहरू पर्नु भएको छ, यस कारण तपाईँहरूले उठाउनु भएका माग जायज छन्’ उपाध्यक्ष पाण्डेले भन्नुभयो ।
छलफलमा राष्ट्रिय सभा सदस्य समेत रहनु भएकी नेकपा एमाले खानेपानी तथा सरसफाइ विभाग प्रमुख विमला घिमिरेले मेलम्ची खानेपानी परियोजनालाई दिगो बनाउन मेलम्चीका स्थानीयको भावना र माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । स्थानीयका समस्या बुझ्न पार्टीले स्थलगत अवलोकन भ्रमण गरेको उहाँले प्रष्ट पार्नुभयो ।
टोलीमा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्वमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभा सदस्य अमनकुमार मास्के, रघुनाथ महर्जन, जयराम थापा, केशवप्रसाद पोखरेलसहित एमाले खानेपानी विभागका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।