अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र प्रचण्डमा राजनीतिक विचलन, चरम अवसरवाद : शंकर पोखरेल

माधव नेपाल र प्रचण्डमा राजनीतिक विचलन, चरम अवसरवाद : शंकर पोखरेल



काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट पार्टीको सरकार ढालेर, पार्टी विभाजन गरी कांग्रेस नेतृत्वमा सरकार बनाउने तहसम्म आफूलाई कम्युनिष्ट भन्ने नेताहरू पुगेका बताउनुभएको छ ।
नेकपा एमाले पेसागत विशेष जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशनलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै पोखरेलले मार्क्सवादी क्रान्तिकारी भनिएकाहरूको यो विचलन चानचुने नभएको बत्ताउनुभयो । हामीले जित्न नसके पनि एमालेलाई हराएर अहिलेको गठबन्धनलाई गुन लगाएका छौँ भनेर माधव नेपाल भाषण गर्दै हिँड्नु भएको भन्दै पोखरेलले बत्ताउनुभयो अहिले गठबन्धनमा माधव नेपालले त्यसैको अंश मागिरहनुभएको पोखरेलले टिप्पणी गर्नुभयो । ‘पन्ध्र, पन्ध्र वर्ष एमाले पार्टीको महासचिव भएको मान्छे एमालेलाई हराएकोमा गर्व गर्दछन्, आफूले जितेको होइन एमालेलाई हराएकोमा गर्व गर्दछन्, यसैलाई भन्छन् विचलन, यसैलाई भन्छन् अवसरवाद’, उहाँले भन्नुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आज एमाले भन्दा कांग्रेसलाई मित्र ठान्ने गरेको उहाँले बताउनुभयो । त्यसैले उहाँमा पनि चरम अवसरवादका कारण राजनीतिक विचलन आएको पोखरेलको भनाइ छ ।
पोखरेलले आज जनताले नरुचाएका शक्तिहरूले गठबन्धन बनाएर शासन गरिरहेका बताउनुभयो । जनताले सबैभन्दा बढी रुचाएको शक्ति नेकपा एमाले भने सत्ता बाहिर हरेको कारण जनतामा निराशा बढेको उहाँको भनाइ छ । ‘जनताले रुचाएको शक्तिले शासन गर्न नपाउने कुरा लोकतन्त्रमा सबैभन्दा घातक हो’, पोखरेलले भन्नुभयो ।
विचार र सिद्धान्त मिल्ने बिचको तालमेल स्वाभाविक भए पनि गएको चुनावमा विचार, गन्तव्य र सिद्धान्त नमिल्नेहरूले गठबन्धन गरेका पोखरेलले बताउनुभयो । विचार नमिल्ने बिचको गठबन्धन सबैभन्दा अवसरवाद भएको उहाँले प्रष्ट पार्नुभयो । विचार नमिल्नेसँग गरिएको त्यस्तो गठबन्धनलाई उनीहरूले ठुलो उपलब्धि ठानेका पोखरेलले टिप्पणी गर्नुभयो ।


यी सबै खालका अवसरवादलाई पराजित गर्न बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको पोखरेलले बताउनुभयो । जनतामा देखिएको निराशा चिर्न र अवसरवादलाई पराजित गर्न नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले बताउनुभयो ।
नेकपा एमालेले चलाएको समृद्धिका लागि संकल्प यात्राले सामाजिक अराजकता चिर्न सहयोग पुगेको उहाँले बताउनुभयो । यसले जनतामा बढेको निराशा चिर्न पनि सहयोग गरेको उहाँले सुनाउनुभयो । पार्टीलाई थप कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेको पोखरेलले प्रष्ट पार्नुभयो ।
पार्टी भित्र पनि शुद्धीकरण अभियान चलाउन आवश्यक रहेको निष्कर्षमा नेकपा एमाले पुगेको उहाँले बताउनुभयो । नेकपा एमालेको केही खस्किएको आधारलाई बलियो बनाउन पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । पार्टीमा भित्र देखिएको अस्वस्थ प्रतिस्पर्धालाई हटाउन नसक्ने हो भने पार्टीले समाजको विश्वास र भरोसा जित्न नसक्ने पोखरेलको भनाइछ ।