अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले बिना देश बन्दैन : अध्यक्ष केपी शर्मा ओली

नेकपा एमाले बिना देश बन्दैन : अध्यक्ष केपी शर्मा ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास विरोधीले भ्रम फिजाउने काम मात्र गर्ने बताउनुभएको छ ।
नेकपा एमाले काठमाडौंले आयोजना गरेको गुहेश्वरी धाप ड्याम यात्रा समापन कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै ओलीले विकास विरोधीले विकासका काममा बाधा गर्ने र मजाक उडाउने बताउनुभयो । ‘विकासका कामलाई मजाक उडाउने काम गर्छन्’, उहाँले भन्नुभयो ।
केही मानिसहरूले वाग्मतीको धापमा बाँधिएको बाँध भत्कियो भने काठमाडौं डुबाउँछ, पशुपति बगाउँछ भनेर भ्रामक हल्ला फिँजाउने गरेका प्रति ओलीले आपत्ति जनाउनुभयो । त्यसैले पनि आफू धापको बाँध हेर्न पुगेको ओलीले बताउनुभयो ।
काठमाडौं आफू प्रधानमन्त्री भएका बेला धरहरा उद्घाटन गरेको बताउँदै ओलीले त्यस मुनि पार्किङको काम सुरु गरेको स्मरण गराउनुभयो । ‘ धरहरा किन शिलान्यास भयो ? किन काम भयो ? किन बन्यो ? किन उद्घाटन भयो ? उनीहरूलाई चिन्ता छ’, ओलीले भन्नुभयो ।
धरहरा बनाएर तयारी माथि पुगेर आफूले पुष्पवृष्टि गरेर धरहराको उद्घाटन गरेको ओलीले स्मरण गराउनुभयो । तर धरहरा उद्घाटन गर्न हतारो भयो भनेर विरोधीले विरोध गरेको ओलीले बताउनुभयो । ‘विरोध गर्ने कुनै ठाउँ नपाएर, जसरी पनि विरोध गर्ने खालका तत्त्वहरू सक्रिय छन्’, उहाँले भन्नुभयो ।
उहाँले दुनियाँमा यस्ता ठुला ताल र ड्याम बनेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले काठमाडौंवासीलाई धाप ड्याम नभत्किने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।
नेकपा एमाले विना देश बन्दैन भन्ने कुरा पुष्टि भइसकेको बताउनुभयो । अन्य दलले २० वर्षमा नगरेको काम एमालेले एक वर्षमा नै गरेको उहाँले दाबी गर्नुभयो । नेपाली जनतामा आशा र उत्साह जगाउने काम नेकपा एमालेले गरेको उहाँले बताउनुभयो ।
गएको निर्वाचनमा एमालेलाई कम मत दिएर गल्ती गरिएछ भन्ने कुरा अहिले नागरिकले महसुस गरिरहेका ओलीले बताउनुभयो । आउने निर्वाचनमा जनताले एमालेलाई एक्लै सरकार बनाउन पुग्ने मत दिने उहाँले विश्वास गर्नुभयो ।
एमालेले राजनीतिक, आर्थिक, सामाजिक हरके क्षेत्रमा काम गरेको उहाँले बताउनुभयो । अहिलेको समस्या समाधानको लागि एमालेले सरकारलाई लगातार सुझाव दिएको भए पनि सरकारले काम नगरेको उहाँले प्रष्ट पार्नुभयो । त्यसैले अब एमाले आवश्यक रहेको ओलीले बताउनुभयो ।
ओलीले काठमाडौंको खानेपानी समस्या समाधानको लागि मेलम्चीको मात्रै पनि भर पर्नु नहुने बताउनुभयो । ओलीले बाढीले मेलम्ची बगाएपछि त्यसको पनि विकल्प खोज्नु पर्छ भन्ने सिकाइ भएको बताउनुभयो । काठमाडौं उपत्यकाका खोलाहरूमा सयौँ ड्याम बाँध्न सकिने उहाँले प्रष्ट पार्नुभयो । यसले खानेपानीको वैकल्पिक व्यवस्थाको साथै वातावरण संरक्षणमा सहयोग गर्न ओलीको भनाइ छ ।