अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान गठबन्धन सरकारले केही काम गर्न सक्दैन: अध्यक्ष ओली

वर्तमान गठबन्धन सरकारले केही काम गर्न सक्दैन: अध्यक्ष ओली


कैलाली-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले एउटा पनि देखिने काम गर्न नसकेको बताउनुभएको छ। 

आज घोडाघोडीको सुखडमा एमालेको कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताउनु भयो।

‘अहिलेको यो निकम्मा सरकार हो। यसले केही पनि काम गर्न सक्दैन’, ओलीले भन्नभयो, ‘यो गरिबलाई हेप्ने, न्याय नदिने, बलियाका पक्षको सरकार हो। क्वीन्टलका क्वीन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन सरकार निरीह छ।’

अध्यक्ष ओलीले सुन तस्करीमा संलग्नलाई कारवाही गर्न खोज्दा आफ्नै मान्छे भेटेपछि छाडिदिने गरेको आरोप समेत लगाउनुभयो। प्रधानमन्त्रीले बिना काम एक वर्ष बिताएको भन्दै ओलीले भाषणमा सच्चिन्छु भन्ने तर सच्चिने कहिले हो भनेर प्रश्न गर्नुभयो।

‘यो सरकारले एक वर्ष काम नगरी बितायो । प्रधानमन्त्रीले एउटा पनि राम्रो काम देखाउन सक्नुभएको छैन। उहाँ भाषणमा हामी काम गर्छौ, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भन्नुभयो, ‘तर ७० वर्ष पुग्न लाग्नुभयो अहिलेसम्म नसच्चिएको मान्छे कहिले सच्चिने हो ?’

राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता कमजोर भएपनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै उहाँले देशमा सुशासन नै नभएको उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा गरेका काम सरकारले रोकेको भन्दै आलोचना गर्नुभयो । विकासका सबै काम सरकारले ठप्प पारेको उहाँले टिप्पणी गर्नुभयो । सरकार विकासका सबै काम ठप्प बनाएर भ्रष्टाचार र तस्करीको काममा लागेको उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले अधिवेशनबाट सक्षम र योग्य व्यक्तिलाई चयन गर्न प्रतिनिधिलाई आग्रह समेत गर्नुभयो। उहाँले सर्वसम्मत वा लोकतान्त्रिक विधिबाट सक्षम नेतृत्व चयन गर्न र महाधिवेशन नलम्ब्याउन पनि बताउनु भयो।

अध्यक्ष ओलीले यस अघि कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन  गर्नुभएको थियो। भवन उद्घाटन गर्दै ओलीले गाउँपालिकालाई कुराको होइन विकासको नेता हुन आग्रह गर्नुभयो ।