अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक

गठबन्धन सरकार पूर्णरूपमा असफल भयो: अध्यक्ष ओली

गठबन्धन सरकार पूर्णरूपमा असफल भयो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन र सरकार पूर्णरूपमा असफल भएको दाबी गर्नुभएको छ।

एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बनाउनु भएको हो। उहाँले अहिलेको सत्ता गठबन्धन असफल हुँदा जनतामा आक्रोश र निराशा बढिरहेको बताउनु भयो।

अध्यक्ष ओलीले गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नेमात्र रहेको टिप्पणी गर्नुभयो। उहाँले गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताउनु भयो।

‘गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासन प्रति कमजोर छ। विकासप्रति चासो छैन । चालु आयोजना बन्द छन्। अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको विरोध हो । एमालेलाई बदनाम गराउने एउटामात्रै गठबन्धनको एजेण्डा हो’, ओलीले भन्नुभयो, ‘जनतामा निराशा छ। नागरिकहरु विदेश पलायन भएका छन्।’

अहिलेको गठबन्धन असफल भएकाले देशमा काम गर्ने कोही पनि छैन भन्ने जनतामा भ्रम पर्न थालेको समेत अध्यक्ष ओलीले बताउनुभयो। उहाँले एमाले भने काम गर्न सक्ने शक्ति भएको दाबी गर्नुभयो। गठबन्धनकै कारण अनेक खालका शक्तिले चलखेल गर्ने मौका पाएको अध्यक्ष ओलीले बताउनु भयो ।