अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्: राष्ट्र बैंक

सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्: राष्ट्र बैंक


काठमाडौँ-नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सर्वसाधारण निक्षेपकर्ताको पैसा सुरक्षित रहेको हुँदा ढुक्कसँग नियमित कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ’, राष्ट्र बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न बैंकले अनुरोध गरेको छ।

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था,  कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको पनि बैंकले जनाएको छ। 

‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ,’ केन्द्रीय बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण र सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ ।’