अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआइसी एशिया बैंक डुब्ने हल्ला पछि राष्ट्र बैंकको विज्ञप्ती : कुनै पनि बैंक आर्थिक रुपमा संकटग्रस्त छैनन्

एनआइसी एशिया बैंक डुब्ने हल्ला पछि राष्ट्र बैंकको विज्ञप्ती : कुनै पनि बैंक आर्थिक रुपमा संकटग्रस्त छैनन्


काठमाडौं -नेपाल राष्ट्र बैंकले कुनै पनि बैंकमा समस्या नरहेको र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको स्पष्ट पारेको छ। पछिल्लो समय बैंक डुब्ने हल्ला फैलिएपछि केन्द्रीय बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि बैंकमा समस्या नरहेको स्पष्ट पारेको हो।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति(समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको विज्ञप्तिमा उल्लेख छ। कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको केन्द्रीय बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण(सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने विज्ञप्तिमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ।

बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड रहेको र नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ। सोहीबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा राष्ट्र बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको जनाएको छ।