अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक : आजदेखि समूहगत छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठक : आजदेखि समूहगत छलफल हुने


काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । 

हिजोदेखि सुरु भएको बैठकमा आजदेखि समूहगत छलफल हुने भएको हो । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजदेखि समूहगत छलफल हुने एमालेले बताएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको र आज बिहान १० बजेदेखि समूहगत छलफल सुरु हुने बताउनुभयो ।  

बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव पेस भएका छन् । छलफलका लागि समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको छ । जसमा पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको समूह बनाइएको छ ।  

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गर्नुभएको थियो । ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समयानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले राख्नुभएको छ । 

पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।  

बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।