काठमाडौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी माथि गरिएको सांघातिक हमलाप्रति अनेरास्ववियुले विरोध जनाएको छ।
उपाध्यक्ष अधिकारी फागुन ६ गते आइतबार गरिएको सांघातिक हमला प्रति अनेरास्ववियु केन्द्रीय कमिटीले भर्त्सना गरेको छ। ‘आफ्नो नियमित कामको सन्दर्भमा आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा कालो मोसो दल्ने र शारीरिक हमला जस्तो अनैतिक, अराजनीतिक तथा आपराधिक घटना प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
त्यस किसिमका आपराधिक गिरोहलाई जुनसुकै आवरणमा रहेका भए पनि अविलम्ब गिरफ्तार गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्न अनेरास्ववियुले सरकारसँग माग गरेको छ। यस्ता गतिविधि विरुद्ध अनेरास्ववियुले सशक्त प्रतिवाद गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका डीबी शाही, नर बहादुर कुमाल, लक्ष्मण बिक र नवराज भट्टलगायत ६ जनाको समूहले भक्तपुरस्थित सीटीईभीटीको कार्यालयमा गएर उपाध्यक्ष अधिकारीलाई कालोमोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेका थिए । अधिकारीकै कार्यकक्षमा प्रवेश गरी उनीहरूले बिहान ११ बजेतिर मोसो दलेका हुन्।
उनीहरुविरुद्ध सीटीईभीटीका तर्फबाट भक्तपुर प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको अधिकारीले बताउनु भयो। उहाँले दुर्व्यवहारको प्रयास गर्ने वैद्य समूहका कार्यकर्तालाई कानुनी कारबाही गर्न माग गर्नु भएको छ ।
प्रतिक्रिया